हिमाल दैनिक
आन्दोलनरत शिक्षकलाई उक्साउँदै माओवादी अध्यक्ष दाहालले भनेः धैर्यतापूर्वक लडिरहनुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य केपी ओलीले गुमाइसकेको दाबी गरेका छन्।

कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसंग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका हुन्।
 
देशभरका शिक्षकहरु सडक आन्दोलनमा आउँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै तत्परता नदेखाउनु लाजमर्दो भएको उनले बताए।

दाहालले शिक्षकलाई अपमानीत गर्ने काम बन्द गरेर शिक्षकहरुको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। जब कि हाल आन्दोलनरत शिक्षकहरुले विगत केही वर्षदेखि विभिन्न माग अघिसार्दै चरणबद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने र सरकारसँग सहमति गर्दै फिर्ता हुने क्रम जारी छ।

यस क्रममा विगतमा सरकारको नेतृत्व गरिरहँदा माओवादी अध्यक्ष दाहालकै कार्यकालमा पनि शिक्षकहरुसँग उनीहरुको मागबारे वार्ता र छलफल पश्चात सहमति कायम भएपनि उनीहरुका माग सम्बोधनका लागि कुनै पहल गर्न सकेका थिएनन्।

तर, अहिले सत्ता राजनीतिबाट पाखा परेका दाहालले तिनै शिक्षकहरुलाई उकास्दै आफ्नो माग पुरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरुलाई अपिल पनि गरे।
 
एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनले बताए।

उनले सहकारी, डाक्टर लगाएत सबै क्षेत्रका व्यक्तिहरु आन्दोलनका लागि सडकमा आउनुपर्ने अवस्थाले सरकार पूर्णत असफल भइसकेको दाबी समेत गरे।

दाहालले केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक भएकाले आफ्नै बोझका सकिने तर्क गरे।

त्यस्तै दाहालले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरुकै काँधमा रहेको दाबी समेत गरे।

उनले कम्युनिष्ट एकता बलियो बनाउन एकैठाँउमा आउन अपिल गर्दै समाजवादी मोर्चामा अरुलाई पनि समेट्ने प्रयासमा रहेको बताए।

प्रतिक्रियावादी र अवसरवादीहरुले माओवादीलाई अपमानित गर्ने काम गरेको उल्लेख गर्दै दाहालले प्रत्येक पटक माओवादी नयाँ ढंगले उठेर अघि बढिरहेको धारणा राखे।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update