हिमाल दैनिक
संसदको बजेट अधिवेशन सुरु, जनताका असन्तुष्टि सम्बोधन गर्न सदनको ध्यान केन्द्रित गरौँः सभामुख

प्रतिनिधि सभाको बजेट अधिवेशन शुक्रबार अपरान्ह १ बजेदेखि संसद भवन नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको बजेट अधिवेशन आजदेखि बस्नेगरी भएको आह्वान बमोजिम सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको घोषणा गरे।

अधिवेशन सुरु गर्ने क्रममा सभामुख घिमिरेले चालु अधिवेशनले आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गर्नेदेखि जनतामा देखिएको असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन केन्द्रित हुनु पर्ने बताए।

शुक्रबार प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने उल्लेख गरे।

उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानून निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे।

संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ।

प्रतिनिधि सभाको छैटौं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटकाबीच पनि शिक्षा, निजामती लगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन क्यालेन्डरमा समय सुरक्षित गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update