हिमाल दैनिक
विपत्तिबाट जोगिने खालका संरचना निर्माणमा ध्यान केन्द्रित गरौँः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १०औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने बताए।

भूकम्प लगाएत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए।

उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले बिनासकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गरे।

उनले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य रहेको धारणा राखे।

त्यस्तै सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकता अनिवार्य हुनुुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धालाई स्वस्थ र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुुपर्नेमा जोड दिए।

उनले आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए।

विसं २०७२ वैशाख १२ गते अर्थात् १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए। उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update