परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको दाबी गरेकी छन्।
थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला मात्रै भएको बताइन्।
कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको हल्ला उत्कर्षमा पुगेको विषयमा राखिएको जिज्ञासामा उनले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको बताइन्।
सरकार परिवर्तनको विषयमा गोप्य योजनाका लागि सभापति देउवा थाइल्याण्ड गएको भन्ने हल्लाबारे उनले थप्दै भनिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नु पर्ने होला, विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन र हामी पनि आफेँ छक्क पर्यौँ।’
आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै मन्त्री राणाले बिहिबार नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन्।
त्यस्तै उनले संयुक्त राष्ट्रसंघीय कार्यक्रममा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको अध्यक्षता गरेको जानकारी दिइन्।
सो क्रममा साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धारणा राखेको उनले बताइन्।
साथै भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री राणाले दिइन्।
मन्त्री राणा एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी स्वदेश फर्किएकी हुन्।