हिमाल दैनिक
गगनलाई ओलीको प्रश्नः बेडरुमसम्मै बिचौलियाको पहुँच भनि ‘धतङ्गाएर' बोलेको कुरा प्रमाणित गर्न सक्छौँ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन्।

आइतबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर त्यस्ता आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिए।

केही दिन अगाडि सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै व्यक्रिको नाम नलिई पछिल्लो समय बिचौलियाहरुको पहुँच प्रधानमन्त्री र नेताहरुको बेडरुमसम्मै हुने गरेको भनाइप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौति दिएका हुन्।

गगन थापाको नाम नलिईकनै प्रधानमन्त्री ओलीले भने, ‘कोही यस्तरी धतङ्गाएर बोल्छन्, कि प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुग्या छ भनेर। दया लाग्छ तिनको त्यस्ता शब्दहरु सुन्दा। के बोलेको त्यो? त्यस्ता कुराहरु प्रमाणित गर्न सक्छन्? तर, बोलेका छन्।’

बिचौलियाको पहुँच प्रधानमन्त्री र नेताको बेडरुमसम्मै छः महामन्त्री थापा

उनले थप्दै भने, ‘त्यस कुरालाई हतियार बनाएर, त्यसलाई उद्दरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु फेरि त्यसैलाई लिएर उफ्रिएका छन्।’

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको आरोप लगाए।

आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरुको वास्तविक रुप लामो समय नटिक्ने दाबी पनि गरे।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा चिसो पानी खन्याइदिएपछि उनीहरु छक्क परेकेो टिप्पणी पनि गरे।

ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिष्पर्धी दलहरु मिल्नुपरेको बताए।

उनले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमालेबिरुद्धको भ्रम तोड्दै ’मिसन ८४’ मा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने दावी गरे।

उनले बिभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गर्दै विगतमा जस्तै नामका वामपन्थी, कामका दक्षिणपन्थी (नावाकाद)हरु अहिले पनि सक्रिय रहेको बताए।

पार्टीभित्रको आलोचनात्मक चेत र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उनले बताए।

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update