नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सभापति देउवाले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकाले आगामी बर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्।
मुलुकको आर्थिक विकासका लागि सरकारले व्यापार व्यवसाय गर्ने नभई उद्योग, व्यवसायीले नै व्यापार व्यवसाय गर्नु पर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक बिकासमा सरकारका साथै निजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजि क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने गरी बजेट आउनु पर्ने बताए।
पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजि क्षेत्रले विशेष ध्यान दिन र आधुनिक सूचना प्रविधिको विकासमार्फत मुलुकको आर्थिक विकासलाई गति दिन आवश्यक रहेको उनले बताए।
..
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक उपलव्धीकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले जनतामा असन्तुष्टि देखिएको बताए।
उनले जनताको असन्तुष्टिलाई उत्तेजनाको व्यापार गर्ने भन्दा पनि जिम्मेवारी बोधका साथ यी समस्याको उचित तवरले सम्बोधन गर्नुपर्ने धारणा राखे।
त्यस्तै उनले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केहि कुरालाई सुधार गर्न सके यसलाई सहि दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे।