हिमाल दैनिक
गुणाकर भट्टविरुद्धको मुद्दाको पालो सरेको सर्यै, भट्ट हेरेको हेर्यै

नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवदेन दिनहुँ पेश चढ्दै र हट्दै जाने क्रमले सोमबार पनि निरन्तरता पाएको छ।

राष्ट्र बैंकमा रिक्त रहेकोे गभर्नर पदका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुबिच भएको सहमति बमोजिम भट्टलाई नयाँ गभर्नर नियुक्ति गरिन लागेको समाचारलाई आधार बनाएर उनीविरुद्ध चैत ३१ गते सर्वोच्च अदालतमा दर्ता भएको अर्को रिटको सुनुवाई विगत दुई हप्तादेखि निरन्तर दैनिक पेशीमा चढेपनि पालै नआउने अवस्थाले आज पनि निरन्तरता पाएको हो।

आइतबार मात्रै अदालतको दैनिक पेशीको क्रम संख्या ड मा परेको उक्त रिट सोमबार थप पर धकेलिएर क्रम संख्या ध मा पुगेको थियो।

न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासको अन्तिम पेशी सूचि ‘ध’मा परेपनि सर्वोच्च अदालतले अपरान्ह साढे एक बजेतिर क्रमसंख्या ड भन्दा पछाडिका रिटमाथिको सुनुवाईमा हेर्न नभ्याइने भन्दै पर धकेलिदिएपछि भट्टको विरुद्धमा परेको रिट भोलिका लागि सरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच गभर्नर पदमा कांग्रेसकोे तर्फबाट प्रस्तावित भट्टलाई नियुक्ति गर्न लागिएको भन्दै अधिवक्ता विशाल थापा समेतका केही कानून व्यवसायीले अदालतमा रिट दायर गरेका थिए।
जसका बारेमा कहिले क्रमसंख्या थ त कहिले ड र आज ध मा पर्दै धकेलिदै गर्दा गभर्नरको नियुक्तिको सिफारिस थप अन्योलतामा परेको हो।

गभर्नरको पदका आकांक्षी भट्टले आफ्नो सम्भावित नियुक्तिलाई ध्यान दिँदै राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट केही समयअघि दिएको राजीनामालाई कायममुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत नगरी अड्काएर राखेपछि आइतबार मात्रै अर्थमन्त्री बिष्णु पौडेलले ढुंगानालाई भट्टको राजीनामा स्वीकृत गरिदिन आग्रह गरेको समाचार बाहिर आएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update