
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते शुक्रबार सार्वजनिक हुने भएको छ।
संविधानको प्रावधान अनुसार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको आगामी आर्थिक वर्ष ०८२÷८३ को वार्षिक बजेटको आधारभूत सिद्धान्त, नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गर्ने तयारी भएको हो।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका आधारमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधि सभाको बैठकको अन्तिममा सबै सांसद सदस्यहरुलाई शुक्रबार राष्ट्रपतिबाट बाचत हुने सरकारको नीति तथा कार्यक्रम बाचन कार्यक्रममा अपरान्ह ३ बजे अगावै उपस्थित हुन सूचना दिएका थिए।
सरकारले हरेक आर्थिक वर्षको सुरु हुनु अगावै संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम बाचन गरी त्यसमाथि छलफल र पारित भएपश्चात संविधानको प्रावधान अनुसार जेठ १५ गते बार्षिक बजेट भाषण गर्ने प्रचलन चलिआएको छ।