
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध अदालतको अवहेलना गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ मागेको छ।
कानून व्यवसायी अनन्तराज लुइटेलसहित तीन जनाले महामन्त्री थापाविरुद्ध वैशाख १४ गते दर्ता गरेको रिटमाथि न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाई पश्चात अदालते यस्तो आदेश दिएको हो।
अदालत स्रोतका अनुसार, महामन्त्री थापासँग यसबारे आफैँ वा आफ्ना प्रतिनिधिमार्फत सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ।
केही दिनअघि महामन्त्री थापाले देशको राजनीतिक क्षेत्रदेखि राज्यका सबै संवैधानिक र प्रशासनिक निकायमा जनविश्वास घट्दै गएको र त्यसमाथि पनि अदालत र अख्तियार जस्ता संवैधानिक निकायमा निश्पक्ष रुपमा कामकारबाही हुन नसकिरहेको जनगुनासोबारे चर्चा गर्ने क्रममा अदालतको विषयमा पनि बोलेका थिए।
यसैगरी उनले चार वर्षअघि राज्यका विभिन्न ५२ संवैधानिक निकायका पदाधिकारी नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिट निवेदनमाथि चार चार वर्षसम्म सुनुवाई नगरी पछिल्लो समय पनि जोखना हेर्दै अदालत चलिरहेको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।
सोही विषयलाई लिएर कानून व्यवसायी लुइटेलसहितको समूहले थापाविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए।