युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किङ्सले सानदार जित निकालेको छ।
पञ्जावबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नईले बिना कुनै विकेट क्षति १३ बल बाँकी छँदै १० विकेटको जित हात पार्यो।
चेन्नईलाई सानदार जित दिलाउन ओपनर द्वय सेन वाट्सन र फाप डुप्लेसिसले समान ५३-५३ बलको सामना गरे। डुप्लेसीले ११ चौका र १ छक्कासहित ८७ रन बनाउँदा वाट्सनले ११ चौका र ३ छक्कासहित ८३ रन बनाए।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको गुमाउँदै १ सय ७८ रन बनाएको थियो।
पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुलले ६३ रन बनाउँदा निकोलस पुरनले ३३, मन्दिप सिंहले २७, ओपनर मयङ्क अग्रवालले २६ रन जोड्दा सर्फराज खानले १४ र ग्लेन म्याक्सवेलले ११ रन जोडेका थिए।
चेन्नईका लागि शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिँदा रविन्द्र जडेजाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। पियुष चवलाले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए।
यो जितसँगै चेन्नई पाँचौ खेलमा दोस्रो जित निकाल्दै छैठौं स्थानमा उक्लिएको छ। समान खेलबाट २ अंक जोडेको पञ्जाब पुछारमा रहेको छ।
अब सोमबार डिल्ली क्यापिटल र रोयल च्यान्ज्स बैंलोरबिच खेल हुनेछ। खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबईमा हुनेछ।
जारी प्रतियोगितामा समान ४ खेलमा ३-३ जितसहित दुबै टोली शीर्ष तीनमा रहेका छन्।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय