हिमाल दैनिक
राजस्थानलाई ५७ रनले हराउँदै आईपीएलमा मुम्बईको लगातार तेस्रो जित
VRP5633
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आबुदावीमा भएको खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले हराएको हो। शीर्षक्रमका ब्याट्सम्यान सूर्यकुमार यादव र बलर जसप्रित बुमराह चम्किएपछि युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि सानदार जित निकालेको छ। मुम्बईले दिएको १ सय ९४ रनको बिशाल लक्ष्य पछ्याएको राजस्तान १८.१ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। राजस्तानका लागि जोश बट्लरले सर्वाधिक ७० रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न नसक्दा जारी प्रतियोगितामा पाँचौ खेलबाट राजस्तानले तेस्रो हार  व्यहोर्‍यो। राजस्तानका लागि जोफ्रा आर्चरले २४ रन बनाउँदा टोम कुरान १५ र महिपाल लोम्रोर ११ रनमा आउट भए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। राजस्तानका दुई खेलाडी शून्यमा आउट भए। राजस्थानलाई सस्तैमा रोक्न जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए। ट्रेन्ट बोल्ड र जाम्स प्याटिन्सनले २-२ विकेट लिँदा राहुल चहर र किरण पोलार्डले समान १-१ विकेट लिए। यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो। मुम्बईलाई बलियो योगफलमा पुर्‍याउन ओपनर सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे। सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे । मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। डी कक २३ रनमा क्याच भएका थिए। उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित शर्मा ३५ रनमा आउट भए। उनले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा इशान किशन शून्यमा क्याच आउट भए। क्रुनाल पान्ड्याले १७ बलमा १२ रन जोडेका थिए। राजस्तानका लागि श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए। यो जितसँगै मुम्बई ६ खेलबाट ४ जितसहित शीर्ष स्थानमा उक्लिएको छ। रनरेटमा पछि परेको दिल्ली दोस्रो स्थानमा झरेको छ। पराजित राजस्तान पुछारबाट दोस्रो स्थानमा छ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update