हिमाल दैनिक
चेन्नईलाई हराउँदै बैंलोर चौथो स्थानमा उक्लियो, धोनीको पाँचौ हार!
Kohli-50-rcb-1024x594
कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्समाथि ३७ रनको जित निकालेको छ। दुबई इन्टरनेशनल स्टेडियममा बैंलोरले दिएको १७० रनको लक्ष्य पछ्याएको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि अम्बाति रायडुले सर्वाधिक ४२ रन बनाउँदा नारायण जगादेशानले ३३ रन जोडे। ओपनर सेन वाट्सनले १४ रन बनाउँदा कप्तान धोनीले १० रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। बैंलोरका लागि क्रिश मोरिसले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो। बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो। ओपनर आरोन फिन्च २ रनमा बोल्ड हुँदा अर्का ओपनर देवदत्त पाडिक्कलले ३३ रन जोडे। पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । वासिन्टन सुन्दरले १० रन बनाएका थिए। चेन्नईका लागि शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिएका थिए। यो जितसँगै कोहलीको बैंलोर तालिकाको चौथो स्थानमा उक्लिएको छ। ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोडेको बैंलोर रनरेटमा पछि पर्दै चौथो स्थानमा पुगेको हो। समान ८ अंक भए पनि मुम्बई दोस्रो तथा कोलकता तेस्रो स्थानमा छन्। ६ मध्ये ५ मा जित हात पारेको दिल्ली शीर्ष स्थानमा कायमै छ। यता पराजित चेन्नई ७ मध्ये २ खेलमा मात्र जित हात पारेको छ। ४ अंक जोडेको चेन्नई पुछारबाट तेस्रो स्थानमा यथावत छ। भोलि शीर्ष स्थानमा दुई टोली मुम्बई र दिल्ली भिड्नेछन्।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update