हिमाल दैनिक
राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो
_AI_8326
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति दुबईमा भएको प्रतियोगिताको आठौं खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। दिल्लीले दिएको १६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि बेन स्टोकले सर्वाधिक ४१ रन बनाए। रोबिन उथप्पाले ३२ रन बनाउँदा सन्जु सांसनले २५ रन बनाए। जोस बटलरले २२ रन बनाउँदा राहुल टेवाटियाले १४ रन बनाए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका तुसार देशपाण्डे र आनरिच नोर्तिजेले समान २-२ विकेट लिए। अक्षर पटेल , रविचन्द्र आश्विन र कागिसो रबाडाले समान १-१ विकेट हात पारे। यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो। दिल्लीलाई मध्यम योगफलमा पुर्‍याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले। धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए । दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर पृथ्वी शालाई जोफ्रा आर्चरले बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काएका थिए । आर्चरलेनै तेस्रो ओभरको तेस्रो बलमा अजिंक्या रहाणेलाई रोबिन उथप्पाबाट दुई रनमा क्याच आउट गराएपछि दिल्ली १०–२ को कमजोर अवस्थामा पुगेको थियो । तेस्रो विकेटका लागि ऐर र धवनले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए । यी दुई खेलाडीबीचको साझेदारी १२ औं ओभरको चौथो बलमा स्पिनर श्रेयस गोपालले तोड्न सफल भएका थिए । गोपालको बलमा धवन कार्तिक त्यागीबाट क्याच आउट भए । टप एज लागेर थर्डम्यानमा क्याच आउट हुन पुगेका थिए । कार्तिक त्यागीको १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ऐर लङ अफमा जोफ्रा आर्चरबाट क्याच आउट हुन पुगे । ऐर र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । आर्चरको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका मार्कस स्टोइनिस १८ रनमा मिड विकेटमा राहुल टेवाटियाबाट क्याच आउट हुन पुगेका थिए । आर्चरको बाउन्सर बलमा ठूलो सट खेल्न खोजेपनि स्टोइनिस सफल हुन सकेनन् । एलेक्स केरी १४ र अक्षर पटेल ७ रनमा क्याच आउट भए । राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । यो जितसँगै दिल्ली ८ खेलबाट ६ जितसहित १२अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित राजस्थानको यो ८ खेलमा पाँचौ पराजय हो।  
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update