इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति भएको खेलमा शिखर धवनको शतकको मद्दतले दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्सलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै दिल्ली अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।
चेन्नाईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले एक बलअघि नै पाँच विकेटको क्षतिमा जित निकाल्यो। ओपनिङमा आएका शिखर धवनले आउट नभइ १०१ रन बनाए। उनले ५८ बल खेल्दा एक छक्का र १४ चौका प्रहार गरे।
चेन्नाईका लागि बलिङतर्फ दीपक चाहरले दुई विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले चार विकेट क्षतिमा १७९ रन बनाएको थियो। उसका लागि फाप डु प्लेसीले ५८ र रवीन्द्र जडेजाले ४५ रन बनाएका थिए। महेन्द्र सिंह धोनी तीन रनमा बाहिरिएका थिए।
दिल्लीका लागि एनरिच नोत्र्जेले दुई विकेट लिए। जितपछि नौ खेलबाट १४ अंकसहित दिल्ली शीर्षस्थानमा पुगेको छ। मुम्बई इन्डियन्स आठ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा धकेलिएको छ। हिजो राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई हराउँदै शीर्षस्थानमा पुगेको थियो।
यसअघि आज भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो। अंक तालिकामा बेङ्लोर नौ खेलबाट १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ। उति नै खेलबाट ६ अंक भएको राजस्थान सातौँ स्थानमा छ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय