हिमाल दैनिक
त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा
dashrath-rangashala
नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दशरथ रंगशालामा बिहीबार पत्रकार सम्मेलन गर्दै एन्फाले त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । एन्फाका प्रवक्ता किरण राईले चैत्र १० गतेदेखि १६ गतेस्म्म हुने प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए । प्रवक्ता राईले प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने र जसमा १ करोड ५० लाख आम्दानी गर्ने र ५० लाख फुटबल विकासका खर्चिने जानकारी दिए । यस्तै एन्फाले प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने जनाएको छ । उपविजेताले ३ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर पाउने छन् । प्रवक्ता राईले कोरोनाको महामारीलाई मध्येनजर गर्दै १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने जानकारी दिए । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ । एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको उनले बताए । एन्फाका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ४ खेल हुने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update