नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नलगाइएको जनाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नदिइएको भन्दै आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्न अनुमति मात्र दिइएको जानकारी दिए । नियमानुसार क्राइटेरिया पुगेका कारण मात्र हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइएको उनले बताए ।
अहिले पनि २६ वटा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ नेपाल बायुसेवा निगमले नै गरिरहेको भन्दै त्यो खोस्ने कुनै योजना नै नरहेको उनले स्पष्ट पारे। उनले सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पनि वायु सेवा निगमलाई दिइएको जानकारी पनि दिए । उनले नेपालमा थाई र एयर इण्डियाले मात्र ग्राउण्ड ह्याण्डलिङको काम आफै गरिरहेको भन्दै अव दुई कम्पनीको ग्राउण्ड ह्याण्डलिङ पनि खोस्ने तयारी भइरहेको बताए ।
उनले काठमाडौंमा बेस बनाएर अव कुनै पनि वायुसेवा कम्पनी स्थापना हुन नसक्ने भन्दै अरु कुनै नयाँ कम्पनीलाइ ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने प्रश्न नै नआउने उल्लेख गरे ।
बैठकमा सांसदहरुले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी अरु कम्पनीलाई दिदा घाटामा गइरहेको निगमलाई थप मर्का गर्ने भन्दै यसमा सचेत रहन सुझाव दिएका थिए । सांसद भीम रावलले बिभिन्न एयरलाइन्सलाई सेल्फ ग्राउण्ड दिदा सेवामा समस्या आएको बताए । उनले निगमलाई बाहेक अन्यलाई एयरलाइन्सलाई सेल्फ ग्राउण्ड जिम्मा दिन नहुने उल्लेख गरे ।
त्यस्तै सांसद माधव कुमार नेपालले निगमकै सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने तर्क गरे । उनले नीति र कार्यशैलीमा मूल्याङ्कन नगरे निगमको सुधार गर्न नसकिने बताए ।
त्यस्तै सांसद नेपालले बिमानस्थल निर्माण गर्दा अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा प्राधिकरणका महानिर्देशक पोखरेलले कोरोनाका कारण नेपालको हवाइक्षेत्रले ठूलो क्षति व्होरोको बताए । कोरोना महामारीकै बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका धेरै काम भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय