प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसदका लागि सरकारले उपलब्ध गराएको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय पश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सभामुख अग्निप्रसाद सापकोटाले पनि कांग्रेसको पदचाप पछ्याउन बाध्य भएका छन्।
कोरोना महामारीका कारण जनता आक्रान्त भइरहेको बेला सरकारले गत वर्षको मन्त्रिपरिषदको निर्णयकै आधारमा सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराएपछि त्यसको चौतर्फी आलोचना भएको थियो।
त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेता तथा प्रमुख सचेतकसँग गरेको परामर्शपछि प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै आफ्नो दलको तर्फबाट संघीय संसदमा रहेका सदस्यहरुको लागि उपलब्ध दशैं भत्ता ४३ लाख २० हजार भन्दा बढी रकम जनताको कोरोना परिक्षण तथा उपचारका लागि कोरोना कोषमा जम्मा गर्न संसद सचिवालयका महासचिवलाई पत्राचार गरेका थिए।
त्यसलगत्तै सत्तारुढ दलका उपनेताले आफ्नो दलको तर्फबाट पनि उक्त भत्ता कोरोना रोकथाम कोषमा पठाउने जानकारी दिएपछि सभामुख सापकोटाले सत्ता र प्रतिपक्षी दलको सुझबुझपूर्ण निर्णय भन्दै धन्यवाद दिए।
कोरोना महामारीका कारण देशको आर्थिक अवस्था संकटपूर्ण रहेकोबेला सत्ता र प्रतिपक्षी दलको निर्णयले सरकारको कोरोना नियन्त्रण अभियानमा सहयोग पुग्ने अपेक्षा आफूले राखेको बताएका छन्।
यसका अतिरिक्त सापकोटाले आफ्नो भत्ता पनि कोषमा जम्मा गर्ने घोषणा गर्दै यो कदममा प्रदेश सभाका सदस्यले पनि सकारात्मक प्रतिक्रियासहितको सहयोग जुट्ने आशा गरेको बताएका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय