प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अक्सिजन प्लान्ट नभएका सरकारी अस्पतालको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले कोरोना उपचारका लागि अक्सिजन अपरिहार्य भएपनि केहि अस्पतालमा अक्सिजन प्लान्ट नभएको जानकारी आएकाले अक्सिजन प्लान्ट नभएका मुलुकभरका सरकारी अस्पतालको विवरण पठाउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकले भेन्टिलेटर, आइसियु प्लान्ट र ग्यास प्लान्ट नभएका भएका र नभएका सरकारी अस्पतालको विवरण माग गरिएको समिति सभापति बिमल श्रीवास्तवले जानकारी दिए । त्यस्तै अक्सिजन प्लान्ट बिग्रेका अस्पतालको तत्काल अक्सिजन प्लान्ट मर्मत गरि सूचारु गर्न पनि बैठकले निर्देशन दिएको छ ।
बैठकले काठमाडौं उपत्यकाका मेयरहरुसंग कोरोना उपचारको व्यवस्थापनका बारेमा छलफल गरेको थियो । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थित गर्ने बताए । उनले कोरोना नियन्त्रणका लागि उपत्यकामाा थप कडाइ गर्नुपर्ने बताए ।
त्यस्तै भक्तपुर नगरपालीकाका मेयर सुनिल प्रजापतिले कोरोनाको जटिल अवस्थामा पनि भक्तपुरमा कोरोना संक्रमितको सहज रुपमा उपचार भइरहेको बताए । उनले होम आइशोलेशनमा बसेका संक्रमितको पनि निरन्तरण स्वास्थ्य उपचार भइरहेको जानकारी दिए ।
बैठकमा सांसदहरुले कोरोना संक्रमित बिरामीको सहज उपचार हुनुपर्ने बताए । उनीहरुले कोरोना परिक्षणको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । त्यस्तै सांसदहरुले कोरोनाबाट समस्यामा परेका नागरिकलाई वडाबाटै व्यस्थापन गर्नुपर्ने धारणा पनि राखे ।
त्यस्तै सांसदहरुले कोरोना उपचार कोषमा जम्मा भएका रकमहरुको उचित ढंगले परिचालन गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय