हिमाल दैनिक
संसदको हिउँदे अधिवेशन नयाँ ढंगले चलाइन्छः सभामुख सापकोटा
Parliamentary Service day
संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले चलाउने बताएका छन्। आइतबार १४औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको भन्दै संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले चलाइने बताए। अहिलेसम्मको संसद अधिवेशन अलि परम्परागत, औपचारिक ढंगले चलिरहेको भन्दै सभामुख सापकोटाले नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने बाटोमा अघि बढिने धारणा राखे। संविधान र कानूनी प्रावधान अनुसार, सभामुख र उपसभामुखमध्ये एक/एक जना पुरुष र महिलासँगै फरक दलको प्रतिनिधित्व हुने व्यवस्था गरिएको भएपनि अहिलेसम्म उक्त व्यवस्थाको कार्यान्वयन नगर्ने मात्र होइन, सत्तारुढ दल बाहिरको दलका सदस्यलाई उपसभामुख दिनु पर्ने अवस्था देखेपछि लामो समयदेखि रिक्त राख्दै आइएको पदमा पदपूर्ति नगरी बसेका सभामुख सापकोटाले नयाँ ढंगले चलाउने भनेको अधिवेशनको विषयमा केही उल्लेख गरेनन्। सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको जानकारी दिए। उनले राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री चयन हुने भएकोले संसद्को महत्व अझ बढी हुने बताए। संसद्को आवश्यकता र महत्व कानुन निर्माण र सुशासन स्थापना गर्ने काममा धेरै रहने बताउँदै यसलाई प्रभावकारी बनाउने पनि बताए। त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन र लक्ष्य हाँसिल गर्नेतर्फ संघीय संसदको भूमिका महत्वपूर्ण रहेको बताए। उनले ऐन निर्माणमा ध्यान केन्द्रीत रहेको भन्दै जिम्मेवारीपूर्ण अघि बढ्नुपर्ने धारणा राखे। त्यस्तै कानूनमन्त्री शिवमाया तुम्वाहाम्फेले ऐन कानून निर्माणमा संसदका कर्मचारीको भूमिका अपरिहार्य रहेको बताइन्। कार्यक्रममा संघीय संसदका कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।    
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update