हिमाल दैनिक
फागुन २३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस
Cabinet_Meeting-696x404
सर्वोच्च अदालतले जीवनदान दिनएको प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गतेका लागि बनोलाइने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अदालतको आदेश बमोजिम प्रतिनिधि सभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश गर्ने निर्णय गरेको हो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको गटगत द्वन्द्धले सीमा नाघेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभाको विघटन र वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गराएका थिए। तर, प्रधानमन्त्री ओलीको सिफारिसमाथि संवैधानिक प्रश्न उठाउँदै नेकपाका पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह लगायतका असन्तुष्ट पक्ष सडक आन्दोलनमा र कतिपय सांसदसहित कानून व्यवसायीहरु सर्वोच्च अदालतमा रिट निवेदनसहित पुगेका थिए। उक्त रिट निवेदनमाथिको बहस पश्चत गत मंगलबार फागुन ११ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनको निर्णय बदर गर्दै फागुन २४ गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। उक्त आदेश बमोजिम आजको मन्त्रिपरिषद बैठकले बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो। उक्त दिन बैठक बोलाएपछि बस्ने प्रतिनिधि सभाले नेपालको संविधान बमोजिम सरकार फेरबदलको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएपनि सत्तारुढ दलभित्रको कानूनी र राजनीतिक जटिलताले संसद अधिवेशन थप अन्यौल र विवादग्रस्त हुने सम्भावना देखिएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update