आफ्नै पार्टीको नेतृत्वसँगै सरकारको विरुद्धमा विपक्षी दल भन्दा कैँयन कदम अघि बढेर सडकमा उत्रिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष अन्ततः प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै सिटमा बस्न बाध्य भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उत्रने क्रममा संसद विघटनको असफल प्रयाससँगै पार्टीको राजनीतिक विभाजन गर्नसम्म पछि नपरेको असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतको समूहले विपक्षी बेन्चमा बस्ने चाहना देखाएपनि कानूनी रुपमा विभाजित नभएको अवस्थामा संसद सचिवायलयले उक्त समूहलाई सत्तापक्षका नेता ओलीसँगै कुम जोडेर बस्न बाध्य बनाइदिएको हो।
नेकपाको बिभाजन औपचारिक रुपमा नै नभएको भन्दै संसद सचिवालयले नेकपाका सबै सांसदहरुलाई सत्तापक्षकै सिटमा राख्ने व्यवस्था मिलाएको जानकारी संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दिए।
संसदीय अभ्यास र परम्परा अनुसार, सत्तारुढ दलका सदस्यहरु सभामुखको सामुन्नेमा पर्ने सभाहलको दायाँपट्टी राखिएका सिटमा र विपक्षी दलका सदस्य वायाँ तर्फको सीटमा बस्ने गर्दछन्।
तर, पछिल्लो समय नेकपाभित्रको आन्तरिक द्वन्द्ध उत्कर्षमा पुगेपछि दाहाल–नेपाल समूहले विपक्षी बेन्चमा बस्ने असफल प्रयास गरेको थियो। उनीहरुको चाहनालाई कानूनी आधारमा पार्टी विभाजित हुन बाँकी रहेको कारण सभामुख अग्निप्रसाद सापकोटाले समेत साथ दिन असमर्थ भएपछि सचिवालयले आजदेखि सुरु हुने प्रतिनिधि सभा बैठकमा नेकपाको असन्तुष्ट पक्षलाई आफ्नो अनुकुलताका आधारमा तोकिएको स्थानमा बस्न सक्ने अवस्थाको निर्माण भने गरिदिएको छ।
यसैबिच संसद सचिवालयले कानूनी रुपमा विभाजित नभएको नेकपाका अलग अलग व्यक्तिलाई प्रमुख सचेतकको हैसियतमा सेवा सुविधा भने उपलब्ध गराएर कानूनको धज्जी उडाएको छ।
पार्टीको औपचारिक विभाजन कानूनी रुपमा भएको खण्डमा अलग अलग दलको नेता र प्रमुख सचेतक, सचेतकलाई सचिवालयले सेवा सुविधा दिनुपर्ने नियमावलीमा व्यवस्था भएपनि पार्टीभित्रको विवादपछि दलको नेताका रुपमा कायम रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि सचिवालयले दुबैलाई सेवा सुविधा दिने जनाएको हो।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय