हिमाल दैनिक
नेपाल वायु सेवा निगमका जहाजलाई २ हप्तासम्म हङकङ प्रवेशमा रोक
tribhuwan-international-airport
नेपालको राष्ट्रिय ध्वजाबहाक विमान नेपाल वायुसेवा निगमका सबै जहाजलाई हङकङले पुनः दुई हप्ताका लागि हङकङ प्रवेशमा प्रतिबन्ध लगाएको छ। हङकङको स्वास्थ्य सुरक्षा केन्द्रले विदेशबाट हङकङ पुगेका विमान सेवाबाट आजैमात्र देखिएका थप १८ जना कोरोना संक्रमित मध्ये १५ जना विदेशबाट आयातित् यात्रु रहेको बताउँदै नेपाल वायु सेवा निगमका जहाजको उडान सेवामाथि रोक लगाउने निर्णय गरेको हो। बुधबार हङकङको सरकारी स्वास्थ्य सुरक्षा केन्द्रले दिएको जानकारी अनुसार, आजै मात्र भेटिएका १८ जना संक्रमित मध्ये १५ जना विदेशबाट हङकङ पुगेका यात्रुहरु र तीन जनाको पहिचान हुन नसकेका संक्रमित भेटिएका थिए। यसरी हङकङ पुगेका संक्रमित यात्रुमध्ये ७ जना यात्रु नेपाल वायुसेवा निगमको नेपाल एयर लाइन्सको उडान नम्बर आर ए ४०९ बाट यात्रा गरी पुगेका यात्रुहरुमा कोरोना संक्रमण देखिएको थियो। त्यसै आधारमा हङकङले भोलि कार्तिक २७ गते बिहिबारदेखि मंसिर १० गते बुधबार अर्थात १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म नेपाल एयर लाइन्सका सबै विमानलाई हङकङ उडानमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ। नेपालबाट विदेश यात्राका लागि कोरोना भाइरसको पिसिआर परिक्षणको नेटेटिभ रिपोर्ट अनिवार्य गरिएको भएपनि नेपालबाट विदेश पुगेका कतिपय यात्रुहरुले नक्कली पिसिआर रिपोर्ट बनाएर यात्रा गरेको कारण विदेशमा गएपछि कोरोना पोजेटिभ देखिएको समाचार प्रकाशित हुँदै आएको छ। जसको कारण नेपालको वायु सेवा र सरकारी निकायप्रति विभिन्न देशले आशंका व्यक्त गर्दै आएका छन्। यसअघि पनि अक्टोबर ४ मा पनि नेपालबाट गएका ६ जना यात्रुमा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट देखिएपछि हङकङले नेपालबाट हुने सबै उडान सेवाहरुलाई दुई हप्ताका लागि अर्थात असोज १८ गतेदेखि कार्तिक १ गते अक्टोबर ४ देखि १७ तारिखसम्म प्रतिबन्ध लगाएको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update