हिमाल दैनिक
नेपालमा कोरोना महामारी नियन्त्रणमा नआएपनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी हवाई सेवा प्रदायकहरुले पर्वतीय उडान सेवालाई तिव्रता दिएका छन्। बन्दाबन्दीको करिब आठ महिनापछि गत मङ्सिर २० गतेदेखि नियमित पर्वतीय उडान शुरुआत गरेर देशमा धराशयी हुन पुगेको पर्यटन व्यवसायलाई नवजीवन दिने प्रयास गरेका थिए। महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन्। पर्वतीय उडानमा पर्यटकहरुले दोर्जेलाक्पा, गौरी–शङ्कर हिमाल, नुम्बर, चोयु, पुमोरी हुँदै सगरमाथा हिमाल तथा ल्होत्से अमादब्लमदेखि मकालु हिमालसम्म अवलोकन गर्न पाउछन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय सुरु भएको पर्वतीय उडान उत्साहवद्र्धक रहेको र यात्रुको मागबमोजिम उडान संख्या पनि क्रमशः थपिँदै जाने जानकारी दिए। आन्तरिक पर्यटकको संख्या बढेको भन्दै उनले अव साताको दुई दिन शनिबार र आइतबार पर्वतीय उडान गर्ने जानकारी पनि दिए। आन्तरिक पर्यटकहरुले कोरोना महामारीको कारण देशमा भएको करिब ८ महिना लामो असरपछि पर्वतीय उडान मार्फत बिभिन्न हिमश्रृखलाको अवलोकन गर्न पाउदा खुसी व्यक्त गरेका छन्। पर्वतीय उडानमा यात्रुको उत्साहवद्र्धक माग बढ्पछि सेवा प्रदायक कम्पनीले काठमाडौं बाहेक सिमराबाट पनि पर्वतीय उडान सुरु गरेका छन्। पर्वतीय उडानमा एक टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएका कारण यात्रु बढेको एयरलाइन्सले जनाएका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update