हिमाल दैनिक
वर्षौँदेखि मिल मालिकहरुबाट भुक्तानी नपाएपछि कठांग्रिने जाडोमा पनि राजधानीको सडकमा विगत केही सातादेखि आन्दोलनरत उखु किसानहरुले सरकारी प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका छन्। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो। चौतर्फी दबाबसँगै किसानको आन्दोलनपछि सरकारी पक्षले २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता किसानलाई दिइसक्नु पर्ने कुरामा मन्त्रालय सहमत भएपछि सघर्ष समितिले आन्दोलन स्थगित गर्न तयार भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। उनले तोकिएको समयभित्र किसानलाई बक्यौता नदिने चिनी उद्योगलाई कानुनी कारबाही गरिने सहमति भएको जानकारी उनले बोलेका छन्। सहमति भएको बुँदामा उखु किसान र चीनी उद्योगसंग सम्बन्धीत समस्याका बारेमा अध्ययन गरी १ सय २० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति सरकार र संघर्ष समितिबीच भएको हो। समितिले उखु किसानले भोगिरहेका विभिन्न समस्याहरुबारे अध्ययन गरी सुझाव पेस गर्ने जनाइएको छ। विगत लामो समय देखि आन्दोलन गर्दै आएका उखु किसानहरुले २१ दिनभित्र बक्यौता रकम नपाए पुनःआन्दोलन गर्ने संघर्ष समितिका संरक्षक मिश्रले बताए।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update