हिमाल दैनिक
चितवनका व्यवसायिक किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने
NCC Chitwan
चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन्। कर्जा प्रदान गर्न नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच हालै सम्झौता भएको एनसीसी बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाप्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो। सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। सम्झौता अनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धनगरी उत्पादन एव म्रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्ति र किसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ। कसले कतिसम्म कर्जा पाउने (रुपैयाँमा) १. पशुपालक व्यक्ति र किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने। २. कृषि तथा पशुपालन व्यवसाय गर्नेगरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्म र व्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने। ३. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म। ४. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका बिभिन्न सहकारी संस्थाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध४० हजार भन्दा बढी किसानहरु लाभान्वीत हुन सक्ने अपेक्षा राखिएको छ। ५.यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क लाग्ने छैन। सम्झौता अनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएको छ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update