पूर्व राष्ट्रपति रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
विश्व अहिंसा दिवस तथा गान्धी जयन्तीको अवसर पारेर यादवले केसीलाई भेट्दै उनका मागप्रति ऐक्यबद्धता समेत प्रकट गरे। डा केसीसंगको भेटपछि पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताए।
डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाएको भन्दै सरकारले पनि वार्तामार्फत नै यस समस्याको समाधानका लागि पहल गर्नुपर्ने सुझाव दिए।
केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र अहिंसा दिवसको संयोग परेको उनले बताए।
प्रथम राष्ट्रपति यादवले केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गरे। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी अनशनमा बसिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय