नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगनकुमार थापासहित केही केन्द्रीय सदस्यहरुको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ देखिएपछि पार्टीका सबै पदाधिकारी र शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
जसको कारण आइतबार बिहान ९ बजेका लागि तय गरिएको पार्टी पदाधिकारीको बैठक स्थगित भएको छ।
पार्टी कार्यालयमा शनिबार दिनभर बसेको वर्तमान तथा पूर्व पदाधिकारीसहित केही नेताहरु सम्मिलित बैठकमा सहभागी नेता केसी र थापाको रिपोर्ट पनि पोजेटिभ आएको भन्ने जानकारी पाएपछि बैठकमा सहभागी नेताहरु त्रसित बनेका छन्।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि बसेको बैठकको अन्तिममा उपसभापति विमलेन्द्र निधिले केसीसहित गगनकुरमा थापा, शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी नेताहरुलाई सुनाएका थिए।
विशेषगरी नेता केसीको रिपोर्ट पोजेटिभ आएको भन्ने थाहा पाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भोलिको बैठक स्थगित गर्न भनेका थिए। उनले भोलि बिहान ९ बजेका लागि तय गरिएको पदाधिकारी बैठक हाललाई स्थगित गरी १९ गतेको केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसोसम्म निर्णय गरी बस्ने वा नबस्ने टुंगो लगाउन सुझाएका थिए।
तर, मुख्यसचिव पौडेलले यसबारे आफूले भन्दा पनि पार्टी पदाधिकारीसँगै कुरा गर्न भनेपछि नेता पौडेलले पार्टी नेताहरुसँग परामर्श गरेका थिए।
त्यसलगत्तै महामन्त्री पूर्णबहादुर खड्काले भोलिको पदाधिकारी बैठक स्थगित हुने जानकारी दिए।
आजको बैठकमा सहभागी नेता केसीले आफ्नो विगतको स्वभाव अनुसार नै अन्य नेताहरुसँग दिनभर जस्तो नजिकमा जाने र जिस्किने गरेको कारण पनि कांग्रेसका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा पर्न गएका हुन्।
नेता थापाले आफ्नो रिपोर्ट पोजेटिभ आएकोले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सतर्क रहन आग्रह गरेका छन्।
पार्टी कार्यालय कमृचारीका अनुसार, १५ गते केन्द्रीय सदस्य, कार्यालय कर्मचारी, सवारी चालक र सुरक्षाकर्मीसहित १६७ जनामा गरिएको पिसिआर परिक्षणमा नेताहरुका सवारी चालकदेखि सुरक्षाकर्मीसहित करिब ६० जनाको रिपोर्ट पोजेटिभ आएको बताए। यसबारे थप विवरण र पुष्टि हुन बाँकी छ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्रप्रसाद रिजाल, एनपी साउद, गगनकुमार थापा, चन्द्रकान्त भण्डारीको उपस्थिति रहेको थियो।
असन्तुष्ट पक्षले सभापति देउवाद्वारा मनोनित गरिएका आमन्त्रित सदस्यहरुको विषयमा प्रश्न उठाएपछि अर्को पार्टीबाट आएका शभ्भुलाल श्रेष्ठसहित आमन्त्रित २० मध्ये ११ जनाको छलफलमा सहभागी आमन्त्रित सदस्यहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
उनीहरुले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेर आफ्नोबारे व्यक्त धारणाप्रति असहमति जनाएका थिए।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय