हिमाल दैनिक
नेपाली कांग्रेसका केही केन्द्रीय सदस्य तथा अन्य केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपनि पार्टी मुख्यालय सानेपा सिल गरिएको छ। पार्टीको १४औं महाधिवेशनको कार्यतालिका लगायतत अन्य समसामयिक विषयमा छलफलका लागि तय गरिएको १९ असोजका केन्द्रीय कार्यसमिति बैठकपूर्व १५ गते गरिएको पिसिआर परिक्षणमा गगनकुमार थापा, अर्जुननरसिंह केसी, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायसहित केही सवारी चालक तथा सुरक्षाकर्मीको पिसिआर पोजेटिभ देखिएपछि आजबाट ५ दिनका लागि कार्यालय बन्द गरिएको हो। कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार अपरान्ह एक जरुरी सूचना प्रकाशित गर्दै स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आजदेखि असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको बताएका छन्। कार्यालय स्रोतका अनुसार, आजदेखि पार्टी मुख्यालय सानेपामा कार्यरत दुई जना सुरक्षाकर्मीलाई सुरक्षाका लागि भित्रै बस्ने व्यवस्था गरी कार्यालयमा ताला लगाउने तयारी भइरहेको छ। शनिबार बसेको वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा सहभागी नेता थापा र केसीसँगको बसाईमा रहेका पार्टी सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारी तथा सदस्यहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि पार्टीको आजका लागि तय गरिएको पदाधिकारी बैठक तथा भोलिको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित गरिएको छ। हिँजोको बैठकमा उपस्थित केन्द्रीय सभापति देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरु पनि हिँजै साँझदेखि कम्तिमा पाँचदिनसम्म सेल्फ आइसोलेशनमा बस्ने र स्वास्थ्य विभागको मापदण्ड अनुसार ५ देखि ७ दिनमा पिसिआर परिक्षण पश्चात मात्रै बाहिर निस्कने भएका छन्। यसैबीच सोमबारका लागि तय गरी स्थगित गरिएको बैठक नेताहरुको पिसिआर परिक्षण पश्चात २५ गते अपरान्ह बस्ने तयारी पनि भइरहेको छ।  
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update