नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविलम्ब वार्ताको माध्यमबाट वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न तथा उनको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक अपिल गरेका छन्।
चिकित्सा शिक्षामा सुधारदेखि कोरोना विरुद्ध प्रभावकारी कदम चालन माग राख्दै विगत २१ दिनदेखि आमरण अनसनमा रहेका केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको बताउँदै पूर्व प्रधानमन्त्री तथा विपक्षी दलको नेता समेत रहेका देउवाले यस्तो अपिल गरेका हुन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले उनको अवस्था गम्भीर बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्त दुःखद र गम्भीर विषय भएको बताएका छन्।
‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्,’ देउवाले भनेका छन्।
जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको बताउँदै उनले, ‘तर सरकारले शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ,’ उनले भनेका छन्।
०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको दाबी गर्दैै देउवाले समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको र उक्त कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको बताएका छन्।
उनले थप्दै भनेका छन्, ‘डा. के.सी.का मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो।’
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको आरोप पनि देउवाले लगाएका छन्।
‘अतः फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।
साथैैै उनले डा. के.सी.को जटिल बन्दै गएको स्वास्थ स्थितिलाई दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न मात्र आग्रह गरेका छैनन्, उनले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन्।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय