विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हुँदा स्वास्थय मन्त्रालयले तय गरेको आफ्नो क्षमताबाहिर गएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, गत २४ घण्टामा मात्रै देशभरी संक्रमित हुनेको संख्या ३४ सय ३९ पुगेको छ। यसमध्ये उपत्यकामा मात्रै १६ सय ८४ जना रहेका छन्। यो संख्या देशभरका प्रयोगशालामा १४,२०९ नमुना परीक्षण गर्दा देखिएको संक्रमितको संख्या हो।
यसरी थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै संख्या राजधानीको काठमाडौं जिल्लाभित्र मात्रै १२ सय ९६ जना संक्रमित भेटिएका छन्। यसैगरी गत २४ घण्टामा थप १५ जना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ।
मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। सरकारले २५ हजारसम्म सक्रिय संक्रमित भएमा देशका अस्पताल र चिकित्सकको सेवा उपलब्ध गराउन सकिने अवस्था भएको बताइसकेको छ।
अहिलेम्म ७२.९ प्रतिशत अर्थात ६८,६६८ जना संक्रमितले कोरोनालाई परास्त गरी घर फर्किएको पनि मन्त्रालयले जनाएको छ। यसरी हालसम्म देशभरी कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
प्रवक्ता गौतमले संक्रमितको संख्या बढिरहेको अवस्थामा अति आवश्यक काम बाहेक घरबाट ननिस्कन, नियमित सेनिटाइजर र मास्क प्रयोग गर्न तथा हातले नाक, मुख, आँखा नचलाउन पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय