हिमाल दैनिक
कन्ट्याक्ट ट्रेसिङमा परेका कांग्रेसका शीष नेताहरुको स्वाव पुनः संकलन
PCR Test
असोज १७ गतेको पदाधिकारी बैठकमा सहभागी हुँदा कन्ट्याक्ट ट्रेसिङमा परेका नेपाली कांग्रेसका शीर्ष नेताहरु लगायत १५१ जनाले बिहिबार पार्टी मुख्यालय सानेपामा कोरोना भाइरसको पिसिआर परिक्षण गराएका छन्। गत सोमबारको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टीभित्र देखिएको विवाद समाधानका लागि पार्टी कार्यालय सानेपामा १७ बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको आज पुनः स्वाव संकलन गरिएको हो। पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार, आज बिहान ८ बजेदेखि ११ बजेसम्म गरिएको स्वाव परिक्षणमा पार्टी नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह लगायतका नेताहरुले स्वाव संकलन गराएका थिए। यसका अतिरिक्त कन्ट्याक्ट ट्रेसिङमा परेका केन्द्रीय सदस्य तथा असोज १५ गते स्वाव संकलन कार्यमा अनुपस्थित रहेका सदस्यकासाथै पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो। सभापति शेरबहादुर देउवाको स्वाव परिक्षण भने उनको निजी निवासमै गएर लिने कार्य भएको छ भने, उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले आफैले कोरोनाको पिसिआर परिक्षण गराएको कार्यालयका कर्मचारीले बताए। पार्टीको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका कोरोना महामारीका कारण प्रभावित भएपछि सभापति देउवाले नयाँ कार्यतालिका तय गर्न तथा देशको समसमायिक परिस्थितिबारे छलफल गरी पार्टीको औपचारिक निर्णय लिन असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए। तर, असन्तुष्ट पक्षका नेता पौडेलसहित २७ जनाले हस्ताक्षर गरी पार्टीमा बुझाएको असन्तुष्टिको विषयमा बैठक अघि छलफल गरी समाधान गर्ने उद्देश्यले १७ गते बोलाइएको पदाधिकारी तथा नेताहरु सम्मिलित बैठकमा कोरोना पुष्टि भएका नेताद्वय केसी र थापा पनि उपस्थित भएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सबै नेता तथा कार्यालय कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। यसरी शीर्ष नेतादेखि कार्यालय कर्मचारीसम्म कन्ट्याक्ट ट्रेसिङमा परेपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले १८ गते सूचना जारी असोज १९ को केन्द्रीय कार्यसमिति बैठक २५ गतेका लागि तय गर्दै पाँचदिन पार्टी मुख्यालय बन्द गरेका थिए। आइतबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि कन्ट्याक्ट ट्रेसिङमा परेका नेता तथा सदस्य र कर्मचारीको अनिवार्य पिसिआर परिक्षण गर्ने र यसरी परिक्षणमा नेगेटिभ रिपोर्ट आएका नेता तथा सदस्यलाई मात्रै बैठकमा सहभागी हुन दिने तयारी भइरहेको छ।  
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update