हिमाल दैनिक
जिम्मेवार नेताको गैरजिम्मेवारीपूर्ण हर्कतः भट्टराई, यादव र मुख्यमन्त्री नै कानूनको धज्जी उडाउन, जनस्वास्थ्यमाथि खेलवाड गर्न व्यस्त
Baburam and upendra
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार सरकारले आम जनतालाई (सामाजिक) भौतिक दूरी कायम गर्न र पूर्वसावधानी अपनाउन निरन्तर आग्रह गरिरहेको छ। यसका बाजबूद पछिल्लो समय देशभरी संक्रमितको संख्या निरन्तर रुपले बढ्दै जाँदा स्थिति भयवह हुँदै राज्यको नियन्त्रण बाहिर जाँदैछ। तर, परिस्थिति भयावह भइरहेकै बेला पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उनको दलका शीर्ष नेताहरु भने स्थानीय प्रशासनको आग्रह र सरकारको कानूनी निर्देशनको ठाडो उलंघन गर्दै विधिको शासनको धज्जी उडाउन मात्र होइन, सर्वसाधारणको स्वास्थ्य र जीवनमाथि नै खेलवाड गर्न व्यस्त छन्। यसको पछिल्लो प्रमाण हो, सोमबार पर्साको सखुवा पर्सौनी र ठोरी गाउँपालिकामा बेग्लाबेग्लै स्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रम। उक्त कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले गर्वका साथ आफ्नो ट्वीटर र फेसबुकमा फोटोसहित लेखेका छन्, ‘पर्सा जिल्लाका सखुवा पर्सौनी गापा र ठोरीमा भएका अलगअलग कार्यक्रमहरुमा नेका, नेकपा लगायतका पार्टी परित्याग गरी १५०० बढी नेता÷कार्यकर्ता जसपामा प्रवेश! राजनीतिक ध्रवीकरण तीब्र बन्दै!’ उनले राखेको फोटो देख्दा लाग्दछ, पर्साका यी स्थानमा नेपाल सरकार अथवा २ नम्बर प्रदेशको कानूनी शासन छैन। थियो भने त्यी स्थानमा राज्यले भन्दै आएको सामाजिक दूरीको पालना, २५ भन्दा बढी व्यक्तिको भेला, सभा वा सम्मेलन नगर्ने र मास्कको प्रयोग हुने थियो। भट्टराईले यसरी राखेका फोटो र स्टाट्समा सुशील श्रेष्ठले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘कोरोना महामारीको कहरमा न त भौतिक दुरिको पालना न त मास्क कै प्रयोग! संवेदनशीलता खोई? राजनीति उत्तेजित पार्न होइन, चेतना बढाउन गर बाबुराम।’ काठमाडौं उपत्यकापछि कोरोना संक्रमणको हटस्पटका रुपमा परिचित २ नम्बर प्रदेशको जिल्ला पर्सा हो। उक्त जिल्लामा संक्रमणबारे जनचेतना बढाउन र जनतालाई महामारीबाट जोगाउने दायित्व उक्त प्रदेशमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री लालबाबु राउतदेखि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको पनि हो। तर, पार्टीले आयोजना गरेको कार्यक्रममा भट्टराईका अतिरिक्त अध्यक्ष तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवदेखि अन्य शीर्ष नेतामात्र होइन, मुख्यमन्त्री राउत समेत नेताहरुको लाइनमा उभिएर कार्यकर्तालाई सदस्यता र माला लगाउन तथा विनामास्क भाषण ठोक्न व्यस्त छन्। यति गम्भीर स्थितिमा जनस्वास्थ्यको ख्याल नगरी पार्टीले आयोजना गरेको कार्यक्रमप्रति कतिपय जसपा नेताहरु समेत असन्तुष्ट छन्।
नाम नबताउँने सर्तमा एक नेताले असन्तुष्टि पोख्दै भने, ‘हमार तराईमे एक कहावत है, अहिर बुझावे सो मरद’ अर्थात अहिर (यादव)लाई सम्झाउन सक्ने नै (मर्द) मान्छे हो।
यसरी महामारीको अवस्थामा पनि भिडभाड जम्मा गरी सदस्यता वितरण गर्ने कार्य रोक्ने जिम्मा पाएको पर्सा जिल्ला प्रशासन कार्यालयले निरिहता प्रकट गरेको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हिमाल दैनिकसँग कुरा गर्दै आफूले जसपा जिल्ला कमिटी, पर्साका सांसद हरिनारायण (पप्पु) राैनियारदेखि प्रदेशका मुख्यमन्त्रीलाई यस्तो सभा, सम्मेलन नगर्न आग्रह गर्दा पनि वेवास्ता गरेको गुनासो गरे। ‘विश्व स्वास्थ्य संघ, संघीय सरकारले तय गरेको मापदण्ड विपरित गएर कुनै पनि कार्यक्रम नगरौँ, गरेपनि सानो भेटघाट मात्रै गरौँ भनि जिल्ला प्रशासन कार्यालयले उहाँहरुलाई पटक पटक आग्रह गरेको हो। तर, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्रीदेखि स्वयं प्रदेशका मुख्यमन्त्री नै उपस्थित भएर कानूनको उलंघन गर्दै जनस्वास्थ्यमाथि खेलवाड गर्नु भयो, के गर्ने?,’ तामाङले भने। कार्यक्रम रोक्न आफूले अनेकन उपाय लगाउँदा लगाउँदै पनि जसपाले पूर्वनिर्धारित कार्यक्रममा केही हेरफेर गरेर चारदेखि पाँच सयको हाराहारीमा उपस्थित तीन/स्थानमा कार्यक्रम आयोजना गरेको उनले बताए। प्रसाशनले किन नरोकेको भन्ने प्रश्नको जवाफमा तामाङले भने, ‘हामीले उक्त कार्यक्रम रोक्नका लागि अघिल्लो दिन पनि मञ्च भत्काउन सुरक्षाकर्मी पठाएका हौँ। तर, पूर्व प्रधानमन्त्रीदेखि मुख्यमन्त्री नै यसको पक्षमा उभिएपछि थप द्वन्द्धको बाटोमा हामी जान चाहेनौँ। उनीहरुको कार्यक्रममा जान खोज्ने कतिपयलाई ठाउँ ठाउँबाट रोक्ने काम भने गर्यौँ।’ उक्त कार्यक्रमहरुमा उपस्थित जनताको अवस्था, भौतिक दूरी र मास्कको वेवास्ता गरेको अवस्थातर्फ संकेत गर्दै उनले भने, ‘मास्क समेत नलगाएका सर्वसाधारणलाई सदस्यता र माला लगाउँदै गर्दा नेताहरु जो ६० वर्ष उमेरमाथिका छन् उनीहरुको अवस्था के होला?’ राज्यको निर्देशन र कानूनको पालना गराउन नसकेको प्रश्नको जवाफमा तामाङले भने, ‘यो प्रश्न यहाँहरुले कृपया पूर्व प्रधानमन्त्री भट्टराई, पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र मुख्यमन्त्री राउतलाई सोधिदिनु न। कि यदी त्यी कार्यक्रममा उपस्थित जनतामा कोरोना महामारी फैलियो भने त्यसको जिम्मा उहाँरुले लिनु हुन्छ कि हुन्न?’ फोटोः बाबुराम भट्टराई र लालबाबु राउतको फेसबुकबाट  
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update