काठमाडौं जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा नागरिकलाई दिँदै आएको सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्दै बिहिबारदेखि बजार अनुगमन कार्यलाई तिब्रता दिने भएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको प्रशासन कार्यालयको बैठकले कार्यालयका चार जना कर्मचारीमा कारोना संक्रमणको पुष्टि भएपछि आजैदेखि कार्यालयबाट नियमित रुपमा प्रदान गर्दै आएका सेवा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
यसका साथै प्रशासन कार्यालयले नजिकिँदै गएको चाडपर्व केन्द्रित बजार अनुगमन र कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले तय गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालनाबारे प्रभावकारी अनुगमन गर्ने भएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, बिहिबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट गठन गरिएका ७ वटा प्रशासकीय अधिकृत सम्मिलित तथा तीन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वका गरी १० टिम जिल्लाभर परिचालन गरिनेछ।
उक्त टोलीले स्थानीय प्रहरी प्रशासन, वडा स्तरीय जनप्रतिनिधि तथा वाणिज्य विभागका प्रतिनिधिहरुको सहयोगमा बजारमा कालाबजारी नियन्त्रणका लागि बजार अनुगमन तथा स्वास्थ्य मापदण्ड अनुसार स्थानीय वासिन्दाले अपनाएका सावधानीका अतिरिक्त सवारी सेवासम्बन्धी समूह बनाएर अनुगमन र नियमन गरिने छ।
यसरी दैनिक उपभोग्य बजारदेखि जिल्लाका सम्भव भएसम्मका गल्ली र स्थानमा अनुगमन गर्दा कसैले स्वास्थ्य मापदण्ड अनुसार मास्क, सेनिटाइजर लगाएको नपाइए अथवा अनावश्यक भिडभाड गरेको पाइएमा तत्काल कानून बमोजिम कारबाहीको प्रक्रिया थालनी गर्ने पनि दाहालले बताए।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय