हिमाल दैनिक
नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै बागलुङमा कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो । त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो । बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टाइनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८५ पुगेको छ । केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २ सय सङ्क्रमित थपिएका छन् । प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए । यात्रा विवरण नभएका र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३ सय ८८ छ भने आइसोलेसनमा १ सय ९५ सङ्क्रमित छन् । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५६ छ । हालसम्म ८ हजार ७ सय २२ जनाको पीसीआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् । कोरोना सङ्क्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ । यस्तै पीसीआर जाँचमध्येमा ५.०९ प्रतिशत सङ्क्रमण दर रहेको कार्यालयले जनाएको छ । जिल्लामा पहिलोपटक गत १५ चैतमा कोरोना देखिएको थियो । जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो । जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोना लागेर ज्यान गएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update