नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार देश र जनताको स्वास्थ्य सुरक्षाको दायित्वबाट च्यूत भएको आरोप लगाउँदै गैरजिम्मेवारपूर्ण निर्णय तत्काल सच्याउन माग गरेका छन्।
सरकारले आइतबारदेखि कोरोना भाइरसको पीसिआर परिक्षण तथा संक्रमितको उपचारको खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नागरिक स्वयंले व्यहोर्नु पर्ने निर्णय गरेको समाचार प्रकाशित भएलगत्तै कांग्रेस उपसभापति निधिले सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरे।
हिमाल दैनिकसँग कुरा गर्दै उपसभापति निधिले भने, ‘महामारी नियन्त्रणमा पूर्णरुपमा विफल भएको सरकार जनतप्रति उदासिन र गैरजिम्मेवार बन्दै परिक्षण र उपचारको दायित्वबाट पन्छियो।’
संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी मौलिक हकले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रत्याभूति गरेको बताउँदै सरकारले यो संवैधानिक अधिकारको ठाडो उलंघन गरेको बताए।
साथै उनले हालै सर्वोच्च अदालतले समेत परिक्षण तथा उपचारको सबै व्यवस्था राज्यले नै व्यहोर्नु पर्ने आदेश जारी गरेको अवस्थामा अग्रपंक्तिमा खटिने व्यक्तिको बाहेक सर्वसाधारण जनताको परिक्षण तथा उपचार खर्चको दायित्वबाट उम्किन खोज्नु अदालतको आदेशको समेत अवहेलना भएको प्रतिक्रिया दिए।
सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीको बाहेक अन्य व्यक्तिको परिक्षण तथा उपचार खर्च राज्यले गर्दा थप आर्थिक व्ययभार बढ्ने सरकारको तर्कप्रति पनि निधिले गम्भीर आपत्ति प्रकट गरे।
‘संविधानको मौलिक हक सम्बन्धी व्यवस्था र संविधानले नै जनताको जीउ, धान र स्वास्थ्य सम्बन्धी सुरक्षाको दायित्व सरकारको हो। जनताको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो जसका लागि यदि विनियोजित बजेटले नभ्याएको खण्डमा बजेटको अरु शीर्षक र अन्य क्षेत्रबाट कटाएर भएपनि जनताको स्वास्थ्य सुरक्षा गर्नु पर्नेमा यो सरकार त्यसबाट पनि च्यूत भयो,’ उनले भने।
उनले महामारीको अवस्थामा सरकारले जनतालाई अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर केबल सत्ता, भत्ता र निहित स्वार्थमा मात्रै केन्द्रित हुँदा देश र जनताले अकल्पनीय दुर्घटना व्यहोर्नु पर्ने स्थिति आएको भन्दै यसप्रति अझैपनि सरकारले गम्भीर भएर आफ्नो निर्णय पुर्नविचार गर्नु पर्ने बताए।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय