हिमाल दैनिक
सरकारको निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी
bhanubhakta_f6txkTJl2Q
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्पष्ट पारेका छन् । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णयहरु नागरिकको संवैधानिक हक तथा अदालतको फैसला विपरित नभएको बताएका हुन् । मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पुहँच सहज बनाउन जनताको चाहना र माग अनुसार नै निजी क्षेत्रसँगको साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शशूल्क सेवा उपलब्ध गराउन आवश्यक भएको उनले बताए । मन्त्री ढकालले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने नीतिका कुनै परिवर्तन नभएको पनि जानकारी दिए । उनले कोरोना संक्रमणको महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा दशैं तिहार लगायतका चाडपर्वहरु मनाउदा विशेष सावधानी अपनाएर मनाउनुपर्ने पनि बताए । मन्त्री ढकालले कोरोना विरुद्धको महामारीमा अग्रपंथिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति सम्मान तथा बिरामीको स्वास्थ्य लाभको कामना समेत गरे ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update