हिमाल दैनिक
कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था स्थिर, दिल्ली लैजान माग
meen BK
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यस्थिति गम्भीर भएपछि शनिबारदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी गरिएको छ। कार्तिक १ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट पीडित बनेका नेता विश्वकर्माको फोक्सोमा समस्या देखिएपछि उनलाई केही दिनअघि राजधानीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। तर, उनको स्थिति थप नाजुक बन्दै गएपछि शनिबार उनलाई भेन्टिलेटरमा राखिएको थियो। कोरोनाको अतिरिक्त नेमोनियाले सिकिस्त बनेका विश्वकर्माको उपचारमा विशेष सहयोग गरिदिन कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले शनिबार नै प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसम्मलाई गुहारेका थिए। आइतबार अस्पतालमा पुगेका कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले शनिबार भेन्टिलेटरमा राखेर उपचार थालिएपछि अहिलेसम्म विश्वकर्माको स्वास्थ्यस्थिति स्थिर रहेको चिकित्सकले बताएको जानकारी दिए। परियारका अनुसार, विश्वकर्माकाे थप उपचारका लागि दिल्ली लैजाने व्यवस्था मिलाइदिन पार्टी र सरकारकाे नेतृत्वसँग अनुराेध परिवार र  आफन्तजनले गरिरहेकाे पनि बताए। यसैबीच आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालमा विश्वकर्माको उपचारमा संलग्न वरिष्ठ चिकित्सकलाई टेलिफोन गरी उनको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। त्यसपछि पनि विश्वकर्माको उपचारका विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्काले अस्पतालका चिकित्सकहरुसँग निरन्तर सम्पर्कमा रहेर जानकारी लिइरहेको पनि पौडेलले जानकारी दिए।  
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update