स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण माग गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्टार अस्पताल सेन्टर, डाइग्नोष्टिक ल्याबरोटोरी, सूर्य हेल्थ केयर र ह्याम्स अस्पतालसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्न निर्देशन दिएको जानकारी दिए ।
केहीसमय अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरि नेगेटिभ नतिजा भएको रिपोर्ट लिएर नेपाल वायुसेवा निगममार्फत काठमाडौंबाट हङकङ, दुबई, र जापान पुगेका नेपालीहरुको त्यहा पुन परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको थियो । उक्त विषयमा छानवीन गर्न भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले उक्त घटनाको विषयमा छानवीन गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । उक्त समितिले तीनवटा प्रयोगशालासँग स्पष्टिकरण माग गर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई कोभिड १९ परीक्षण गर्न लिइएका स्वाबका नमुनाहरु नेगेटिभ रिपोर्ट आएकाहरुको एक महिना र पोजेटिभ रिपोर्ट आएका नमुना तीन महिनासम्म स्टोर गर्नुपर्ने नियम लागु गरेको भएपनि ती प्रयोगशालाहरुले उक्त नियम पालना नगरेको डा गौतमको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय