हिमाल दैनिक
सरकार र डा. केसी पक्षबीचको वार्ता सकारात्मक, आजै साँझ पुनः बसेर टुंग्याउने प्रयास जारी
Dr KC's issues resolving meeting
अनशनरत डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक देखिएको नेपाल चिकित्सक संघका अध्यक्ष एवं केसीको पक्षबाट वार्तामा सहभागी चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए। कार्कीका अनुसार, वार्तामा डा केसीले अघि सारेका मागको बुदाँगत रुपमा छलफल भएको र साँझ दुबै पक्षले मस्यौदा तयार गरेपछि बैठक पुनः बस्ने गरी अपरान्हको वार्ता स्थगित भएको हो। डा. केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका थिए। डा केसीले राखेका मागका बिषयमा केन्द्रित भएर छलफल भएको र सहमति खोज्ने प्रयासका साथ साँझ पुन वार्तामा बस्ने अध्यक्ष कार्कीले बताए। आमरण अनसनमा बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अवस्थामा चौतर्फी दबाब बढेपछि बुधबार साँझ मात्रै सरकारले बाध्य भएर शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। सरकारी टोलीमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सहभागी रहेका छन्। सरकारले टोली गठन गरेलगत्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ताटोली गठन गरिएको थियो। उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. कार्की रहेका छन्। चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारले उनलाई राजधानी ल्याएपनि उनले अनसन तोड्ने अथवा जीवन रक्षाका लागि उपचारका उपाय अपनाउन मानिरहेका थिएनन्।    
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update