हिमाल दैनिक
पछिल्लो समय नेपालको राजनीतिमा झुट र बनाबटी कुरा गर्न नजान्ने वा नसक्ने व्यक्ति कुनै पनि पार्टीको नेता त के कार्यकर्ता पनि हुनै सक्दैन कि भन्ने मान्यता स्थापित हुँदैछ। अर्थात आफ्नो फाइदाका लागि राजनीतिकर्मीले जे पनि बोलिदिने गरेकै कारण समयक्रममा त्यसको पटाक्षेप हुँदा नेता र झुट अथवा बनाबटी शब्द एकअर्काका पर्यायबाची पो हुन् कि जस्तै भान समाजमा पर्दैछ। अर्थात नेता हुन झुटकै सहारा लिनु पर्र्छ भन्ने धारणा विकसित हुँदैछ। तर, लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेर जीवनको उत्तराद्र्धमा त्यही सत्य, निष्ठा र इमान्दारिताको खडेरी परेको निश्कर्ष निकाल्दै पार्टीको महत्वूर्ण पद केन्द्रीय कोषाध्यक्षबाटै राजीनामा दिएर अलग्गिने राजनीतिकर्मी/समाजसेवी हुन् रामवावु प्रसाई (खनुपरुदेप्रकाहा)। बिक्रम सम्वत् १९७८ सालमा ताप्लेजुङको हाम्पाङमा आठराई जन्मिएका उनै खनुपरुदेप्रकाहाको आज ९९ वर्षको उमेरमा ओम अस्पतालमा उपचारका क्रममा निधन भयो। उनको जीवनशैली र व्यवहारकाबारेमा भोगिजान्नेदेखि सुनेका आधारमा भन्नेहरुको कुरा विरलै मानिसले पत्याउलान्। अथवा पत्याइहाले भनेपनि त्यो कुनै किम्बदन्तीको कथा वा पात्र भन्दा कम लाग्दैन। नाताले भाई पर्ने मानवअधिकारकर्मी चरण प्रसाईका अनुसार, खनुपरुदेप्रकाहा एक यस्तो ऐतिहासिक गान्धीवादी पुरुष थिए जसले २०११ सालमा झापादेखि कञ्चनपुरसम्म पैदल यात्रा गरेर नयाँ रेकर्ड कायम गरे। राणा शासनको अन्त्यपछि १५ सालमा सम्पन्न आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेर पराजित भएका प्रसाई पछि नेपाली कांग्रेसमा सक्रिय हुँदै संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंहसँगै निर्वासनमा गए। निर्वासनमा बस्नका लागि भारतको सिलगढीमा आफ्नै घर किनेका प्रसाईको निवास त्यतिबेलाको प्रतिबन्धित कांग्रेस नेताहरुका लागि झण्डैझण्डै सम्पर्क कार्यालय अथवा गेष्टहाउस जस्तै थियो। जहाँ उनले पार्र्टीले चलाएको सशस्त्र बिद्रोहका लागि लुकाइराखेको हातहतियार भारतीय प्रहरी प्रशासनले पक्रिएर मुद्दा चलाउँदा पनि आफ्नो पक्षका वकिलसँग झुटो वयान दिएर उम्किन तयार भएनन्। अनुशासन र पारदर्शीता विनाको कुनै पनि समाज वा व्यक्ति समाजका लागि नै अभिसाप हो भन्ने उनको अटल विश्वासकै कारण उनले त्यो आत्मअनुशासनको पालना आफैँबाट सुरु गर्नु पर्छ भन्ने पाठ कुनै नेतालाई पढाउन छाडेनन्। आफ्ना दाजुको किस्सा सुनाउँदै चरण प्रसाईले भने, ‘एकपटक बीपी लगायतका नेताहरु झापा जाँने क्रममा २६ जनालाई खाना बनाउन भन्नु भएछ। प्रसाईको घरमा पुग्दा बाटोमा कुनै एक जना कार्यकर्ता थपिएपछि प्रसाईले आफूले तयार पारेको खाना २६ भन्दा बढी एक जनालाई पनि नदिने र त्यो सबै भनिएकै व्यक्तिले सक्नु पर्ने अडान लिनु भएछ।’ बीपीसँगै मेलमिलापको नीति अंगालेर स्वदेश फर्किएपछिका दिनमा पनि उनले आफ्नो झापास्थित घरमा नेताहरु जाँदा बस्ने, खानेदेखि ०४६ सालको जनआन्दोलनको जिल्लास्तरिय तयारी सबै गर्ने व्यवस्था मिलाएका थिए। आन्दोलन लगत्तै ०४८ सालमा पार्टी सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष रहेका प्रसाईले झापा अधिवेशनमा पहिलो पल्ट केन्द्रीय प्रतिनिधि र परिवेक्षकले अनिवार्य दर्ता शुल्क तिर्नु पर्ने व्यवस्था गराए। यसरी पार्टीमा लेबी उठाउनुको प्रमुख कारण पार्टीलाई आफ्नै स्रोत सधानले सम्पन्न गराउन सकेमात्र पार्टी बलियो र पारदर्शीता कायम हुन सक्छ भन्ने उनको मान्यता थियो। तर, ४८ सालको चुनावमा झापा ५ बाट पराजित भएका प्रसाई ५० सालमा सम्पन्न उपनिर्वाचनमा आफ्नै सभापति भट्टराईलाई अन्तरघात गरी हराउने तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनका समर्थकलाई अनुशासनको कारबाही हुनु पर्ने अडानमा अडिग रहे। चाक्सीबारीमा भएको बैठकमा गणेशमान, कृष्णप्रसादले सबै कुरा बिर्सिएर कसैमाथि पनि अनुशासनको कारबाही नगर्ने सहमति गरेपछि पार्र्टी कोषाध्यक्ष पदसँगै कांग्रेसको साधारण सदस्यता समेत त्यागेर अलग बसे। कोषाध्यक्ष हुँदाको समयमा पनि सभापतिले कुनै कार्यकर्तालाई आर्थिक सहयोग दिन भनि पठाए भने सभापतिको मौखिक आदेशलाई उनले कहिल्यै स्वीकार नगरेको चरण प्रसाई बताउँछन्। यसरी पार्टीमा आर्थिक सहयोग दिएर कार्यकर्तालाई मागिखाने स्वभावको बनाउन नहुने मान्यता राख्ने प्रसाईले नेताहरुलाई पनि सधैँ नैतिकवान, इमान्दार, पारदर्शी र जवाफदेही बनाउन कोशिश गरिरहे। तर्कसंगत विषयमा मात्रै भर विश्वास गर्ने प्रसाईका कतिपय क्रियाकलाप कहिले काँही नेता तथा कार्यकर्तालाई मन नपरेपनि उनले त्यसको प्रबाह गरेनन्। उनी आफ्नै निर्भिक स्वभावमा बाँचिरहे। गान्धीवादको असली चेलाको रुपमा उनलाई चित्रण गर्दै चरण प्रसाईले भने, ‘उहाँले झापामा १४ सालमा नै आफ्नै जग्गा दिएर कृषिफर्म खोल्नु भएको थियो। त्यो फर्ममा एकपटक एउटा साँढे आएर बाली नास गरिदिएछ। त्यसपछि उनले फर्ममा साढे आयो भने कारबाही गर्ने सूचना टाँस गरे। अर्कोदिन पनि साँढे आएपछि उसलाई हानेर खुट्टा काटिदिए। उक्त घटनामा मुद्दा चलेपछि वकिलको वयानमा उनलाई झुटो नबोलेमा कारबाही हुन्छ भन्दा पनि उनले आफ्नो सजाय भन्दा ठूलो सत्यता ठाने र झुट बोलन मानेनन्।’ नेपालमा दोस्रो कृषि विज्ञको रुपमा परिचित प्रसाई विद्यार्थी जीवनकाल देखि नै स्वावलम्बी, निश्कपट र पारदर्शी रहेको चरण बताउँछन्। नाताले भतिजी पर्ने कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले पनि खनुपरुदेप्रकाहाले झापामा कांग्रेस पार्टीको कार्यालय बनाउनदेखि विर्तामोडमा कृषि थोक बजार स्थापनाका लागि आफ्नो जग्गा दान दिने समाजसेवीको रुपमा स्मरण गरिन्। सय वर्ष पुग्न एक वर्ष मात्रै बाँकी रहेको अवस्थामा पनि आँखाको दृष्टि अलि कमजोर भएपनि स्मरण शक्तिमा कुनै ह्रास नआइकन उनको इहलिला समाप्त भएको चरण प्रसाई बताउँछन्। यस्ता निस्वार्थी र निष्कपट राजनीतिकर्मी÷समाजसेवी प्रसाईको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्। प्रसाईका एक श्रीमती, तीन छोरा, दुई छोरी रहेका छन्। प्रसाईको निधनप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली।    
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update