हिमाल दैनिक
टुँडिखेलमा सांकेतिक रुपमा फुलपातीको हर्षबढाई
phulpati-tudhikhel
बडादशैंको सातौ दिन शुक्रबार नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा सांकेतिक रुपमा फुलपातीको हर्षबढाई गरेको छ । हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि शुक्रबार अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सेनाले स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडपर्वलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा छोटो र सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरेको हो । यस वर्ष सामाजिक दुरी कायम गरी सीमित संख्यामा सेनाले बढाई कार्यक्रममा पाहुना आमन्त्रण गरेको थियो । समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने बडा दशैं २०७७’ को अबसरमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो । त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । सो क्रममा सेनाको हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवरा, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएत संबैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति थियो । नेपाली सेनाले प्रत्येक बर्ष फुलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update