हिमाल दैनिक
अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य अर्पण
chaath-parb
छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्वको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको हो । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । जसअनुसार शनिबार बिहान भक्तजनहरुले सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कोरोनाका महामारीका बीच पनि काठमाडौं उपत्यकाका नदिकिनारमा भक्तजनहरु छठ मनाउन पुगेका थिए । जीवनदायी शक्ति सूर्य देवता र छठीमाताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छठपर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो । छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा भएको भक्तजनको भनाई छ । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update