कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुले दुई नगरपालिकाको सीमानाको भूगोल र जनसंख्या भागबण्डा हचुवाका भरमा गरेको भन्दै सरोकारवाला स्थानीय बासिन्दा आक्रोसित भएका छन्।
कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ९ को सीमा क्षेत्रको भूगोल र सीमानामा रहेको अन्यौलता र अस्पष्टता अन्त्य गर्ने नाममा पुस्तौँदेखि साविकको बाहिरी गाउँ र हालको कीर्तिपुर ४ मा रहँदै आएका केही घरमात्रै कटाएर चन्द्रागिरीमा पुर्याएपछि झुलपोखरीस्थित बासिन्दा आक्रोसित भएका हुन्।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र महर्जनका अनुसार, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्काको संयोजकत्वमा गठित कार्यदलले सीमा क्षेत्रको भूगोल सम्बन्धी अस्पष्टताबारे तयार पारेको प्रतिवेदनका आधारमा सीमा विवाद समाधानको प्रयास भएको छ।
उक्त कार्यदलले शुक्रबार चन्द्रागिरी केबुलकारद्वारा संचालित चन्द्रागिरी हिल्सको होटलमा आयोजित कार्यक्रममा दुबै नगरपालिकाका प्रमुखलाई आफ्नो प्रतिवेदन बझाएको हो।
उपप्रमुख रिजाल नेतृत्वको कार्यदलले विभिन्न मितिमा बैठक, छलफल, बहस र अन्तरक्रियासहित स्थलगत निरीक्षण गरी तयार पारेको प्रतिवेदन दुबै नगरपालिकाका प्रमुखलाई बुझाइएको भन्दै सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक भएपछि मात्रै स्थानीय बासिन्दाले यसबारे पत्तो पाएका थिए।
यसरी दुई नगरपालिका र वडास्तरिय जनप्रतिनिधिहरुले सीमाना, भूगोल र जनसंख्याबारे हेरफेर गर्दैगर्दा सरोकारवाला बासिन्दाहरुसँग परामर्श नगरी गर्न सकिन्छ भन्ने प्रश्नको जनप्रतिनिधिहरुले चित्तबुझ्दो जवाफ दिन भने सकेका छैनन्।
यसबारे कीर्तिपुर–४ का वडा अध्यक्ष राजेन्द्र बाँनियासँग सम्पर्क हुन सकेन भने चन्द्रागिरी नगरपालिका–९ का वडा अध्यक्ष महर्जनले पहिले राजकूलो र बाटोको आधारमा सीमा निर्धारण गरिँदै आएको भएपनि व्यवहारिक रुपमा देखिएको समस्या समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन मार्फत समस्या समाधान गर्ने कोशिश भएको दाबी गरे।
कार्यदलले विभिन्न बैठक, छलफल र स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पारेको भनिएपनि सरोकारवाला स्थानीय वासिन्दासँग भने कार्यदलले कुनै परामर्श नगरेको गुनासो स्थानीयको छ।
शुक्रबार साँझसम्म कीर्तिपुर नगरपालिका ४ को बासिन्दाका रुपमा सुतेका झुलपोखरका रामकृष्ण अधिकारी शनिबार बिहान उठ्दा चन्द्रागिरी ९ को बासिन्दा भएको पत्तो पाएपछि नगरपालिकाको कार्यशैलीप्रति आक्रोसित बनेका हुन्।
अधिकारीले भने, ‘हामीलाई कुनै जानकारी र परामर्शविना नै कुनै होटल वा कोठामा बसेर कसैले हामीलाई तँ यता, र उ उता भनेर भाइ अंश लगाए जसरी विभाजन गर्न पाइन्छ? सदियौँदेखि विकास, निर्माणको दृष्टिले सधैँ पछि परेका हामी झुलपोखरीका बासिन्दा जुन समस्या झेल्दै आइरहेका छौँ, अहिले एकैचोटी नगरपालिका र वडास्तरिय जनप्रतिनिधिले जानकारी नदिई सीमा मिलाउने नाममा हाम्रो समाज विभाजन गर्न पाइँदैन।’
सीमा समायोजनको विषयमा आफ्नो वडाका अध्यक्ष बाँनियाले वा नगर उपप्रमुखले बैठक र छलफल त के सामान्य जानकारी समेत नगराएको भन्दै अधिकारीले आफ्नै नगर र वडास्तरिय जनप्रतिनिधिबाट आफूलाई तिरस्कार गरेको महसुस भएको गुनासो गरे।
झुलपोखरीस्थित पुराना स्थानीय चारवटा घरमात्रै कटाएर अर्को नगर र वडामा कटाउने कदममा राजनीतिक र व्यक्तिगत प्रतिशोधका आधारमा गरिएको आरोप समेत उनले लगाए।
नगरपालिकाको उक्त कार्यविरुद्ध आइतबार कीर्तिपुर–४ का वडा अध्यक्षदेखि नगरपालिका प्रमुख र आवश्यक परे मन्त्रालयसम्म ज्ञापनपत्र बुझाउने र उक्त निर्णय कार्यन्वयनमा आउन नदिने चेतावनी अधिकारीले दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय