हिमाल दैनिक
बुल्दी खोलाको पुल उद्घाटन त्रुटिपूर्ण : नेकपा
ramchandra-poudel
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यासनगरपालिका–१ तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गर्नुभएको थियो । नेकपा तनहुँद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रुटिपूर्ण तवरले गरिएको बताएका छन्। उनिहरुले निर्वाचित सांसदहरुलाई कुनै सम्पर्क तथा समन्वय नगरेको बताएका छन् छ । पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उहाँहरुको आरोप छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण बताए । वैधानिक क्षेत्राधिकार मिचिएर गरिएको कार्यप्रति विरोध जनाउँदै उनले विपक्षी पार्टीलाई समेत सरिक गराएर पाँच वर्ष विकास निर्माणको नेतृत्व नेकपाले लिने उल्लेख गरे । प्रतिनिधिसभाका सांसद सिग्देल, कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रियसभाका सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङ, हरिबहादुर चुमान, आशा कोइराला र रामबहादुर गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सम्मानित राष्ट्रिय व्यक्तिले गलत प्रक्रियाबाट काम गर्न नहुने उल्लेख गरिएको छ । सम्बन्धित कार्यालयले हाल उद्घाटन गर्न मनासिव नदेखिएको भन्दै पत्राचार गर्दा पनि पार्टी कार्यक्रम जस्तो गरी उद्घाटन गरिएको सांसद श्रेष्ठले बताए । काँग्रेस वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो १ बजे पुल उद्घाटन गर्ने भनिएपछि नेकपा समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । झडपको अवस्था सिर्जना हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update