हिमाल दैनिक
आठ महिनापछि चिडियाखाना पुनः खुला
chidiya-khana-zoo
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिए । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् । भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको रहेको पोखरेलले बताए । यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेको छ । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखिसर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update