हिमाल दैनिक
गत वर्षको यसै समयमा चीनको बुहानबाट सुरु भएर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाइमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको लकडाउन आदेशपछि ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबार देखि खोल्ने तयारी भइरहेको छ। . मानिसहरुको भिडभाड कम गर्दै संक्रमणको नियन्त्रणका लागि सरकारले देशका सबै मठमन्दिरमा नियमित पूजा बन्द गरेसँगै बन्द भएको पशुपतिमा मंगलबार क्षमापूजा गरियो। पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि भक्तजनहरुका लागि मन्दिरमा पूजा र दर्र्शन गर्न खुला गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपस्थित गराएर मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरायो। प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गरिएपछि ९ महिनादेखि पशुपति क्षेत्रमा सुनसान छाएको थियो। यसरी लामो समयसम्म मन्दिरमा नियमित पूजा र भक्तजनको दर्शनमा समेत रोकिएकोमा कोषले आज भगवानसँग क्षमा माग्न विशेष क्षमापूजा गरेको हो। सो अवसरमा पशुपतिनाथको मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको थियो। यसैगरी पशुपतिको मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ। पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोष सञ्चालक परिषद्का सदस्य शास्त्री अर्जुन प्रसाद बास्तोलाले जानकारी दिए। पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने कोषले जनाएको छ। नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो।  
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update