हिमाल दैनिक
नौ महिनापछि पशुपतिनाथ मन्दिर खुल्ला
pashupatinath-mandir
कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर बुधबारबाट भक्तजनलाई दर्शनका लागि खुल्ला गरिएको छ । मन्दिर खुला गरिएसँगै पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले जानकारी दिए । भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको तथा ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्ने र जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने उनले जानकारी दिए । त्यस्तै कोरोना महामारीले अझै पनि अवस्था सहज भइनसकेकाले भक्तजनहरु आफैले पनि सावधानी अपनाउन उनले आग्रह गरे । त्यस्तै मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने सदस्य सचिव ढकालले जानकारी दिए । केहि समयपछि विशेष पूजाको व्यवस्था गरिने उनले बताए । लामो समयपछि मन्दिर खुलेसँगै दर्शन गर्न पुगेका भक्तजनहरुले पनि सहज तथा व्यवस्थित रुपमा दर्शन गर्न पाएको भन्दै सधै यस्तै व्यवस्था गर्न कोषलाई आग्रह गरेकाछन् । नौ महिनापछि भक्तजनका लागि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो । नौ महिना यता पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन रहदै आएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update