नेपाली कांग्रेसका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
कांग्रेस पार्टीको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको कोइराला परिवारका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जनको आइतबार बिहान ११ बजे ७५ वर्षको उमेरमा निधन भएको हो।
केशव कोइराला र कांग्रेसकी महिला नेतृ नोना कोइरालाका सुपुत्र निरञ्जन निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय रहँदै आएका थिए। यसका अतिरिक्त कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन्।
तत्कालीन पर्यटन मन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारका रुपमा रहेर कार्य गरेका कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
साथै, आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक बक्तव्यमा उल्लेख छ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय