नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रिया र संविधानबाट स्थापित अधिकारको प्रत्याभूति र भाइब्रेन्ट डेमोक्रेसीका लागि सरकार र त्यसको नेतृत्वकर्ता अझ बढी जिम्मेवार हुनु पर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय अहिंसा तथा १५१औं गान्धी जयन्तीको अवसरमा कांग्रेसका पूर्व नेता महेन्द्रनारायण निधिको नाममा खोलिएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शुक्रबार गरेको भर्चुअल मिटिङमा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन्।
गान्धीलाई अहिंसाको पूजारीमा मात्रै सिमित गर्न नसकिने बताउँदै देउवाले गान्धी लोकतन्त्रको आधार बलियो बनाउन ग्राम स्वराजदेखि स्वदेशी उपत्पादनको पक्षपाती भएको बताए।
संयुक्त राष्ट्रसंघले समेत आजको दिनलाई अहिंसा दिवस घोषणा गरेर गान्धीले अघि बढाएको अहिंसात्मक राजनीतिको औचित्य पूष्टि गरेको बताए।
नेपालले पछिल्लो राजनीतिक परिवर्तन पनि शान्तिपूर्ण राजनीतिक प्रक्रियाबाट आएको बताउँदै उक्त शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न जोड दिए।
लोकतन्त्रमा जनताले आफ्नो कुरा राख्ने र गलत कुराको विरोध गर्न पाउने अधिकारको प्रत्याभूतिबाट मात्रै भाइब्रेन्ट डेमोक्रेसी सम्भव भएको बताउँदै भने, ‘अरुले उलंघन गरे भनेपनि सरकार नै बढी जिम्मेवार हुन जरुरी हुन्छ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले विश्वमा विचार र हतियारको राजनीतिमध्ये बुद्ध र गान्धीले शान्तिको बाटोमा जान प्रेरणा दिएपनि विश्वमा अझै पनि परमाणु वम र हतियारको राजनीतिको भय कायमै रहेको बताए।
हतियारको राजनीति भनेको बाघको घोडा चढेको अवस्था जस्तै भएको बताउँदै गान्धी र बुद्धको विचार वेवास्था गर्दै अझै पनि हिंसाको तानावाना बुनिनुले मानिसले आफ्नै भविश्यमाथि खलवाड गर्ने काम गरिरहेको बताए।
साथै उनले आफू गृहमन्त्री हुँदा पहिलो पल्ट सुटुक्क पद्मरत्न तुलाधरको सहायतामा तत्कालिन माओवादी नेतालाई भेटेर हतियारको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आए आफूले सहयोग गर्ने बचन दिएको बताए।
उनले मुलुकलाई राजनीतिक प्रयोगको थलो बनाउन नहुने बताउँदै मुलुकलाई लोकतान्त्रिक शासन पद्धतीमा अघि बढाउन ठालूतन्त्र र राणातन्त्रको प्रवृत्ति त्याग्नु पर्ने सुझाव दिए।
निधि प्रतिष्ठानका संरक्षक तथा कांग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीको विचार सत्य, प्रेम र अहिंसाकै आधारमा रहेको बताउँदै त्यसको महत्वलाई संयुक्त राष्ट्रसंघले समेत गान्धीकै जन्मदिन पारेर अहिंसा दिवसको रुपमा मनाउनु पुष्टि गरेको बताए।
भारतले अंग्रेजलाई हटाउँदा गान्धीकै पथमा शान्तिकै बाटोबाट भएको भएपनि भारतका छिमेकी राष्ट्रहरु नेपालले पनि नेपालले राणाशासन हटाउँदा अहिंसाको बाटो अपनाइएकोबारे खोजको विषय बन्न सक्ने उनले बताए।
नेपालमा हिंसा र शान्तिपूर्ण बाटो दुबै माध्यमबाट राजनीतिक परिवर्तन भएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुबैले हिंसाको बाटो अपनाएपनि थोरै समयका लागि कांग्रेसले अपनाएको हिंसाको बाटो केहीहदसम्म सफल भएको तर, कम्युनिष्टको हिंसात्मक बाटो सफल नभएको बताए।
पछिल्लो पटक गान्धीकै बाटोबाट प्राप्त राजनीतिक परिवर्तन र संविधान मार्फत स्थापित राजनीतिक शासन व्यवस्थामा संघीयताको धारणा अनुसार प्रदेशको अधिकार प्रत्याभूति र शान्ति प्रक्रियाका बाँकी काम अझै पूर्णतामा पुग्न बाँकी रहेको बताए।
गान्धीले चलाएको छुवाछुत र भेदभाव विरुद्धको अभियानबाटै पाठ लिएर नेपालले हाल देशमा देखिएको आर्थिक, सामाजिक, जातिय भेदभावको अन्त्यका लागि अघि बढन परेको उनले बताए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान सभाबाट संविधान बनाएपछि अब देशमा कुनै पनि राजनीतिक आन्दोलन गर्न नपर्ने प्रणाली स्थापना भएको दाबी गरे।
उनले यदि कसैलाई व्यक्ति मन परेन भने व्यक्ति बदल्न र दल मन नपरे दल फेर्न सकिने अवस्था बनेको बताउँदै जनताको मन जित्दा सबै परिवर्तनको सम्भावना रहेको बताए।
कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले गान्धीको आस्थाले भारत मात्र होइन सिंगो विश्वलाई प्रेरणाको स्रोत दिएको बताए।
साथै उनले गान्धीको विचार कुनै देश, काल र परिस्थिति विशेषका लागि मात्र नभएर सबै देश र दीर्घकालसम्म पनि सान्दर्भिक रहेको बताए।
नेपालका लागि स्वीस राजदूतले एलिजावेथ भनकापिलरले संघीयताको सफल कार्यान्वयनमार्फत समाजमा विद्यमान द्वन्द्ध समाधान गर्न सहज हुने बताउँदै द्वन्द्धको मूल्य संघीयताको भन्दा धेरै चर्को हुने बताइन्।
गान्धीले गरिवी नै हिंसाको मूल कारक भएको बताउँदै यसको अन्त्यका लागि गरिबीसँगै समाजमा रहेको सबै किसिमको विभेद अन्त्य गर्न जरुरी भएको स्मरण गर्दै उनले नेपालमा देखिएको सबै विभद र द्वन्द्धको अन्त्यका लागि जोड दिइ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत उपनिवेशवादको दर्द, पिडा र विद्रोहबाटै अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामा आइपुगेको बताउँदै यसका बाबजूद पनि आफ्नो मुलुकले लोकतन्त्र र शान्तिको मार्गलाई प्रतिबद्ध भएर अंगाल्दै आएको बताए।
नेपालको लोकतान्त्रिक यात्रा पनि महात्मा गान्धीकै अहिंसाको मार्गबाटै अघि बढेको बताउँदै गान्धीको अहिंसात्मक राजनीतिको महत्व दर्शाए।
कांग्रेस नेता रमेश लेखकले नेपालको राजनीतिमा हिंसासँगै गान्धीको अहिंसात्मक प्रयोग भएपनि अन्ततः गान्धीको विचारले प्राथमिकता र स्थान पाएको दाबी गरे।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय