पार्टी सभापति शेरबहादुर देउवाले विधान बमोजिम पार्टी संचालन नगरेको भन्दै असन्तुष्ट पक्षले उठाएका मुद्दामाथि नेपाली कांग्रेसका वर्तमान र पूर्व पदाधिकारीको अतिरिक्त भावी पदाधिकारीका आकांक्षीसहितको छलफल सानेपामा चलिरहेको छ।
असन्तुष्ट पक्षले पार्टी नेतृत्वविरुद्ध लगाएका आरोपसँगै उक्त पक्षले उठाएको विषयवस्तुबारे छलफल र सहमतिका लागि सभापति देउवाले शनिबार बिहान बस्नेगरी वर्तमान तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए।
पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जनसँगै सरकारको काम कारबाहीबारे छलफल र निर्णयका लागि असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि पार्टी नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षका नेताले उठाएका विषयमा छलफल गरी सहमतिबाट टुंगोमा पुग्न देउवाले आजको बैठक तय गरेका थिए।
तर, उक्त पदाधिकारी बैठकमा विगतमा जस्तो पूर्व पदाधिकारीका अतिरिक्त केही सदस्यहरु पनि थप्न तथा उक्त बैठक देउवा निवासको सट्टा पार्टी मुख्यालयमै राख्न पौडेलले माग गरेपछि सभापति देउवा सहमत भएको स्रोतले बतायो।
सोही सहमतिका आधारमा पौडेल पक्षका वर्तमान र पूर्व पदाधिकारीसँगै केन्द्रीय सदस्यहरु बलबहादुर केसी, मीनेन्द्रप्रसाद रिजाल, चन्द्रकान्त भण्डारी तथा नेता कृष्णप्रसाद सिटौलाको तर्र्फबाट गगनकुमार थापालाई आजको बैठकमा डाकिएको हो। पौडेल र सिटौलाको तर्फबाट पदाधिकारीबाहेकका सदस्य थपिएपछि देउवा पक्षबाट पनि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाड, एनपी साउद, रमेश लेखकलाई बैठकमा डाकिएकोमा आज बिहानदेखि अपरान्हसम्म चलेको बैठकमा कार्की, खाड र लेखक अनुपस्थित रहे।
अपरान्ह २ः३० बजे बस्नेगरी स्थगित भएको पहिलो चरणको बैठकमा नेता पौडेल, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाल र चन्द्रकान्त भण्डारीले आफ्नो धारणा राखेको एक नेताले बताए।
कांग्रेसको विधानले केन्द्रीय कार्यसमिति बैठक नबसेको अवस्थामा पार्टीका कतिपय निर्णयहरु कार्यसम्पादन समितिले गर्ने व्यवस्था उल्लेख छ। तर, आन्तरिक विवाद र असहमतिका कारण कार्यसम्पादन समिति गठन नभएपछि पार्टीमा वर्तमान र पूर्व पदाधिकारीकै बैठकबाट कतिपय महत्वपूर्ण निर्णय लिनेदेखि केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्ने कार्य हुँदै आएको छ।
तर, आजको बैठकमा भने विधान वमोजिम नेतृत्व नचलेको भनि लगाइएको आरोपमाथिको छलफलमा विधानले चिन्दै नचिन्ने वर्तमान तथा पूर्व पदाधिकारी मात्र होइन आगामी महाधिवेशनमा पदाधिकारीका नयाँ आकांक्षीका रुपमा देखिएका नेताहरुलाई समेत सहभागी गराइएको छ।
यसरी पदाधिकारी बैठकमा पदाधिकारी बाहेक नेताले रोजेका सदस्यहरु पनि उपमा एक नेताले भने, ‘आफूले भनेजस्तो भयो भने नेताहरुलाई विधान सिधान केही चाहिन्न। भनेजस्तो भएन भने विधान, नियम र सहमतिका कुरा उठ्ने हुन्।’
कोरोनाका कारण प्रभावित भएको पार्टीको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिमार्जनका लागि सभापति देउवाले असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए।
तर, पार्टी नेता पौडेलसहित असन्तुष्ट पक्षका २७ जना निर्वाचित तथा मनोनित सदस्यहरुले सभापतिको कार्यशैली, पार्टी कार्यालयको कामकारबाही लगायतका विषयमा प्रश्न उठाउँदै असोज १२ गते विधान सम्मत पार्टी संचालन गरी महाधिवेशन स्वच्छ र निश्पक्ष वातावरण गर्न मागसहितको ९ पृष्ठ लामो ज्ञापन पत्र बुझाए।
उक्त ज्ञापन पत्रको विषयमा सभापति देउवाले आफ्नो पक्षका नेताहरुसँग परामर्शपछि उक्त विषयमा पौडेल र उनको पक्षका नेताहरुसँग बसेर छलफल गर्न तयार भएका थिए।
यसका अतिरिक्त कोरोना महामारी नियन्त्रणमा सरकार पूर्णरुपले असफल भएको तथा राज्य संचालनमा सरकारले भ्रष्टाचार, अपारदर्शीता र जवाफदेहिताहिन गतिविधि गरिरहेको अरोप लगाउँदै यसबारे संसदको विशेष अधिवेशन बोलाउनेबारे पनि केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय लिने तयारी भइरहेको छ।
त्यसपछि कांग्रेसले सदनमा रहेका विपक्षी दलहरुसँग परामर्श गरी संसदको विशेष अधिवेशन बोलाउने तथा सरकारको असफलताविरुद्ध सडकमा विरोध जनाउने रणनीति अख्तियार गर्ने योजना बनाइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय